रमेश भट्ट,
अनौपचारिक रूपमा कुरा गर्दा, जनस्वास्थ्यसम्बन्धी विभिन्न सन्देश तथा जानकारीहरू हाम्रो संस्कृति र सभ्यताको विकास सँगै अगाडि बढेको देखिन्छ । ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय, हजारौ वर्षदेखि वाचन गर्दै आएको यो संस्कृतिको वाक्यले…. ‘सबै सुखी हुन् सबै निरोगी हुन्’ भन्ने सन्देश दिन्छ, जनस्वास्थ्यको मुख्य उद्देश्य पनि यही नै हो ।
यसैगरी शान्ति पाठ गर्दा उच्चारण गरिने । ‘ओम द्यौ शान्तिरत्नरिक्ष, शान्ति : पृथ्वी शान्ति राय: शान्ति : रोषधय: शान्ति: । वनस्पतय शान्ति : सर्व : शान्तिः शान्ति रेव शान्ति : सा, मा शान्तिरेधी’ जसले मुख्य त आकाश, ब्रम्हाण्ड, पृथ्वी, जल, थल, रूखबिरुवा सबैमा शान्ति छाओस्, अर्थात् संसारभरि नै शान्ति छाओस् भन्ने अर्थ दिन्छ । यसको मतलब के हो भने, यदि यी सबै वस्तुमा हामीले शान्ति स्थापना गर्न सके वा यी चिजहरूको उचित जगेर्ना गर्न सके, जनस्वास्थ्यको अवस्था स्वफूर्त नै बलियो हुन्छ । हाल जनस्वास्थ्यअन्तरगत पढाइ हुने विषयहरूले पनि यिनै कुराहरूलाई विषयगत रूपमा समेट्ने प्रयास गरेको छ । औपचारिक रूपमा नेपालमा २०४३ सालदेखि जनस्वास्थ्य विषयको पढाइ महाराजगन्ज क्याम्पसबाट सुरु भएको हो । हालसम्म नेपालभरि जनस्वास्थ्यसम्बन्धी पढाइ हुने ३४ वटा कलेज छन्, जसमध्ये ३१ ओटा कलेजमा बीपीएच र ८ ओटा कलेजमा एमपीएच को पढाइ हुन्छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आँकडाअनुसार हालसम्म नेपालमा ५,०६४ जना जनस्वास्थ्य पढेका व्यक्तिहरू छन् । जसमध्ये एमपीएच पढेकाहरूको संख्या १,११२ छ । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विवि, पोखरा विवि, बीपी कोइराला स्वाविप्र, पाटन स्वाविप्र, कर्णाली स्वाविप्रमा जनस्वास्थ्यको पढाइ हुने गरेको छ । हालसम्म नेपालमा सबैभन्दा बढी जनवास्थ्यका जनशक्तिहरू पूर्वाञ्चल विविले उत्पादन गरेको छ ।
जनस्वास्थ्य विषय पढेपछिका अवसरहरू
नेपाल, जनस्वास्थ्य थुप्रै सम्भावना बोकेको देश हो । यहाँको भौगोलिक, वातावरणीय विविधता र यहाँ बसोबास गर्ने विभिन्न जातजाति र वर्गहरूका कारण यसले जनस्वास्थ्यका अवसरहरूलाई बढाइदिएको छ । यद्यपि हालसम्म पनि यो क्षेत्रमा सीमित जनस्वास्थ्यमूलक क्रियाकलाप मात्र गर्न सकिएका छन् ।
जनस्वास्थ्य बिषयका विज्ञहरूको सरकारी, गैरसरकारी, शिक्षण संस्था, अनुसन्धान केन्द्रहरू, अन्तर्राष्ट्रिय स्तरका संघसंस्था, हस्पिटलमा आफ्नो सीप र दक्षता देखाउन सक्छन् । हालको संघीय प्रणालीमा गाउँपालिका र नगरपालिकाका सम्पूर्ण स्वास्थ्यका नीति योजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन–मूल्यांकन गर्न पनि जनस्वास्थ्य विज्ञहरूको खाँचो छ । यसैगरी विभिन्न उद्योग, होटेल, बैंक, स्कुललगायत अन्य संघसंस्थामा पनि जनस्वास्थ्यकर्मीहरूले अहम् भूमिका निर्वाह गर्न सक्दछन् ।
यसैगरी, जनस्वास्थ्यमा असर पु¥याउने विभिन्न वस्तु तथा क्रियाकलाप साथै उपभोक्ताको स्वास्थ्यसम्बन्धी मुद्दाहरूमा पैरवी गर्ने, त्यससम्बन्धी प्रभावकारी अनुगमन गर्ने र आवश्यक जनचेतना फैलाउने काम पनि स्वास्थ्यकर्मीहरूको दायित्वभित्र नै पर्छ । हालको अवस्थामा नसर्ने संख्या पनि बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गरी, समुदायका मानिसलाई समयमै नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकार रहन ज्भबतिज एचययतष्लन अभलतभच हरूको स्थापना गर्ने साथै समुदायलाई यी क्रियाकलापमा सहभागी गराउन प्रोत्साहन गर्ने काममा पनि जनस्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।
गुणस्तरीय जनस्वास्थ्य शिक्षा प्रदान हाल देखिएका चुनौतीहरू
देशको जनस्वास्थ्य प्रणालीलाई मजबुत पार्न, दक्ष जनस्वास्थ्यकर्मीको खाँचो पर्दछ । त्यसकारण यस्ता जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरू व्यवस्थित, आधुनिक र सुविधा सम्पन्न हुन अत्यन्त जरुरी छ ।
त्यसैगरी पठनपाठनमा संलग्न अध्यापकहरू पनि सक्षम, अनुभवी, लगनशील तथा मोटिभेटेड हुन आवश्यक छ । हालको अवस्थामा प्रायजसो शैक्षिक संस्थाहरू व्यावसायिक तथा मुनाफा केन्द्रित हुँदा गुणस्तरीय शिक्षा दिन निकै चुनौती देखिन्छ । विश्वविद्यालय आफैं र तिनले सम्बन्धन दिएका क्याम्पसहरूमा गुणस्तरीय तथा अनुभवी अध्यापकहरूको कमी देखिन्छ । थोरै शिक्षकबाट धेरै काम गराउने पद्धति, अन्य सुविधा तथा वृद्धि विकासका अवसरको कमीले गर्दा शिक्षण पेसा थोरैमात्र जनस्वास्थ्य विज्ञहरूको रोजाइमा परेको देखिन्छ । सरकारले बुझ्नुपर्ने कुरा के हो ? ‘जव गुरुहरूलाई गोरु सरह बनाइन्छ, तिनले पनि गधाहरूमात्र उत्पादन गर्दछन्’ मतलव त्यस्ता शैक्षिक संस्थाबाट उत्पादन हुने विद्यार्थी पनि गुणस्तरीय ज्ञान र सीपको अभावका कारण जनस्वास्थ्यमा टेवा दिन वा आफ्नै जीविकोपार्जन गर्न सधंैभरि संघर्ष गरिनै रहनुपर्छ र साथै जनस्वास्थ्यको रोजगारीमा पनि यसले चुनौती थप्छ ।
यसैगरी जनस्वास्थ्यमा अध्ययन गर्न इच्छुक नयाँ विद्यार्थी भर्ना गर्दा पनि, प्रत्येक विश्वविद्यालयका आ–आफ्ना परीक्षा प्रणाली, विद्यार्थी क्याम्पसमा अपुग भए पुनः परीक्षा गर्ने प्रणाली, बहालवाला जागिरेलाई विद्यार्थीका रूपमा भर्ना गर्ने, विद्यार्थीको ८०% हाजिर हुनुपर्ने नियमको बेवास्ता, विद्र्यार्थीहरू क्याम्पसले लिने आन्तरिक परीक्षामा नियमित समावेश हुन नखोज्ने, प्रयोगात्मक र फिल्डका क्रियाकलापमा पनि अनियमित हुने लगायत अन्य विभिन्न समस्याहरूले पनि गुणस्तरीय जनस्वास्थ्य शिक्षा प्रदान गर्न चुनौती थपेको छ । जनस्वास्थ्यमा विषयगत कुराहरू, समय र परिस्थितिसँग परिवर्तन भइरहनुपर्ने हुन्छ । त्यसकारण त्यसको अध्ययन–अध्यापन गर्न, शिक्षक र विद्यार्थी दुवैको अहम् भूमिका हुन्छ । पढाउने बेला कुनै निश्चित किताब मात्र नभएर, अनुसन्धान गरेका कुराहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशहरू पनि संलग्न गर्नुपर्ने हुँदा बजार त्यस्ता सामग्री तथा किताबहरू पनि पाउन गाह्रो छ ।
त्यसकारण समग्रमा, जनस्वास्थ्य शिक्षा अत्यन्त आवश्यक भए पनि, गुणस्तरीय जनस्वास्थ्य शिक्षा प्रदान गर्न हाल चुनौतीको रूपमा नै देखिएको छ । यसको सुधारका लागि मुख्यगरी शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सम्बन्धित विश्वविद्यालय, काउन्सिल र क्याम्पस सञ्चालकहरूको चासो र ध्यान जानु अत्यन्त आवश्यक छ ।
(भट्ट, यती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल हुन । )
Leave a Reply