हेल्थ टुडे,
काठमाडौ,१७ भदौः प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ । गत ५ भदौमा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको सोमबार प्लाजा फेरेसिस प्रक्रियाबाट छैठौं चरणको उपचार सम्पन्न भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार सकिने जनाइएको छ । यो प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टिबडीलाई निराकरण गरिन्छ ।
सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो ।
एन्टिबडी निकालेर मिर्गौलाको कार्यक्षमतामा सुधार ल्याउन कार्यका लागि प्लाज्मा फेरेसिस उपचार विधि अपनाइन्छ । अहिले एक दिन बिराएर प्लाज्मा फेरेसिस भइरहेको निजी चिकित्सक डा.शाहले बताइन् । अब एकपटक फेरेसिस गरिनेछ । शरीरबाट विकारयुक्त एन्टिबडी कति निष्कासन भयो भन्ने यकिन भने एकदुई महिनापछि थाहा हुने चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओली यसअघि साउन १८ गते पनि नेसनल युनिभर्सिटी अस्पतालमै उपचार गराएका थिए । पहिलोपटक उनी नौ दिन उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए । ओलीको दुवै मिर्गौला फेल भएपछि ०६४ साल साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुधबार प्रधानमन्त्री ओलीको सातौं चरणको उपचार प्रक्रिया पूरा हुनेछ । यो उपचार प्रक्रिया सकिएपछि उनी स्वदेश फर्किने मिति तय हुने जनाइएको छ ।
Leave a Reply