हेल्थ टुडे,
धनगढी,३१ भदौः स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी परेका छन् । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट हालसम्म ७४ जना संक्रमित भएका हुन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।
‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र कञ्चनपुरमा २–२ जना बिरामी देखापरेका निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए ।
उनले भनेः‘अधिकांश बिरामी उपचारपछि घर फर्केका छन्, थोरै मात्र बिरामीको नजिकका अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेका सबैको अवस्था सामान्य रहेको छ ।’
माइटले टोकेको ठाउँमा घाउ भए, शरीरका विभिन्न भागमा बिमिरा देखिए, अत्यधिक ज्वरो आए, शरीरका विभिन्न भाग दुखेमा स्क्रब टाइफसको सङ्क्रमण भएको हुनसक्ने भएकाले तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह लिन आग्रह गरिएको छ । चिकित्सकहरुले तत्कालै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुने तर समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारका सङ्क्रमण गर्ने जनाएका छन् ।
स्क्रब टाइफस भएका मानिसमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छोड्ने लक्ष्यण देखिने चिकित्सकले बताएका छन् । स्क्रब टाइफसको जीवाणु सार्ने माइट झाडी, खेतबारी, वनजङ्गल, घरवरपरको झाडीलगायतका क्षेत्रमा बस्ने भएकाले यस्ता क्षेत्रमा काम गर्दा पूरै शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घासबारी वा चौरमा बस्दा गुद्री ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने तथा बस्ने गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
Leave a Reply