हेल्थ टुडे,
काठमाडौ,२ असोजः सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियुले नियम विपरित लिएको शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको भर्ना खारेज गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरले बुधवार विज्ञप्ती जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ अतिरिक्त शुल्क फिर्ता नगरेको खण्डमा चितवन र गण्डकी मेडिकललगायत अन्य सम्बन्धन प्राप्त निजी कलेजको यो वर्षका लागि लिइने भर्ना खारेज गर्न सरकार र आयोग समक्ष जोडदार माग गर्दछौँ ।’
‘मेडिकल शिक्षामा लिइँदै आएको मनपरी शुल्कलाई नियन्त्रण गरी शुल्क सीमा निर्धारण गर्ने, मापदण्ड र पूर्वाधारका आधारमा विद्यार्थी सिट संख्या तोक्नेलगायतका काम भए पनि मेडिकल कलेजले त्यसलाई नटेरेको र तिनले अतिरिक्त शुल्क लिन नरोकेकोप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
साथै, संगठनले सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क असुलीविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिले गरेको आन्दोलनमा समेत ऐक्यबद्धता जनाएको छ । गत वर्ष अनेरास्ववियुसमेतको संलग्नतामा गण्डकी मेडिकल कलेजमा ५४ दिन लामो आन्दोलन सञ्चालन भएको र अहिले पनि खबरदारी जारी रहेको अध्यक्ष महरको भनाइ छ ।
८ चैत ०७५ मा सरकारले निजी मेडिकल कलेजहरूले अवैध रूपमा लिइराखेको अतिरिक्त शुल्क एक महिनाभित्र फिर्ता गर्ने र निजी कलेजसमेतको संलग्नतामा शुल्क फिर्ताको अनुगमन गर्न विश्वविद्यालय, मेडिकल काउन्सिल र कलेजहरूलाई निर्देशन दिएको थियो । तर, मेडिकल कलेजले शुल्क फिर्ता गरेका छैनन् ।
यस्तै, अनेरास्ववियुले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कार्यान्वयन गर्नसमेत माग गरेको छ । त्यस्तै, सिट संख्याको वैज्ञानिक एवं व्यवस्थित निर्धारण, विदेशी विद्यार्थीको हकमा प्रवेश परीक्षा अनिवार्य र सबै कलेजको एउटै प्रवेशिका परीक्षा लागू गर्नसमेत माग गरेको छ ।
Leave a Reply