हेल्थ टुडे,
दार्चुला,७ असोजः दार्चुलाको बर्थिङ सेन्टरमा एक महिलाले एकै पटक तीन शिशु जन्माएकी छन् । दार्चुला जिल्लाको नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले तिम्ल्याहा सन्तान (तीन छोरी) जन्माएकी हुन् । सोमबार बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा उनले तिम्ल्याहा शिशु जन्माएकी हुन् ।
यस अघि दुई पटक सुत्केरी भएकी धामीले यसपटक भने निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले जानकारी दिएकी छन् । कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माएकी हुन् । धामीका यसअघि नै एक छोरा र एक छोरी छन् । नौगाड सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घटना हो ।
तीनै छोरीको तौल औसतमा कमी छ । शिशुहरुको तौल दुई किलोग्राम र एक किलो २०० ग्राम मात्र रहेको छ । औसतमा बच्चा जन्मिदा दुई दशमलव पाँच किलोग्राम तौल हुने गर्छ । अहिलेसम्म आमा र शिशुको अवस्था सामान्य रहे पनि जोखिम भने रहेको स्वास्थ्यकर्मीले बताएका छन् । कम तौल तथा समय अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा रहेको छ ।
दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन र अक्सिजन मेसिनसमेत छैन । चौबीसै घण्टा प्रसूति सेवा भए पनि उपकरण अभावमा समस्या भएको छ । सुत्केरीको तल्लो पेट दुख्ने तथा रक्तस्राव नरोकिएका कारण अवस्था खतरापूर्ण छ । सुदूरपश्चिम प्रदेश सरकारले सुत्केरी महिलालाई एयर एम्बुलेन्समार्फत धनगढी लैजाने तयारी भईरहेको जनाएको छ ।
Leave a Reply