हेल्थ टुडे,
काठमाडौ,२ कात्तिकः चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनको शूल्क निर्धारण गरेको छ । आयोगले निर्धारण गरेको शुल्क अनुसार काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ रहेको छ ।
यस्तै, बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान रु २० लाख १९ हजार ५८० शुल्क निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५÷७६ को मुद्रास्फितीको आधारमा शैक्षिक शत्र २०७६÷०७७ को शुल्क निर्धारण गरेको आयोगले जनाएको छ ।
यसअघि विसं २०७५ असोज २८ गते सरकारले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बीडीएसतर्फ रु १९ लाख ३२ हजार ६१२ शुल्क कायम गरेको थियो ।
आयोगले तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारवाही गर्ने समेत निर्णय गरेको छ । आयोगले विद्यार्थीबाट लिने शुल्कमध्ये एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम बार्षिक रुपमा किस्ताबन्दीमा लिने व्यवस्था ऐनमा नै भएकाले सोही व्यवस्था अनुसार गर्न समेत सम्बन्धित निकायको ध्यानकर्षण गराएको छ ।
यस्तै,आयोगले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि सिट संख्या र शुल्क निर्धारण गर्न कार्यदल बनाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्कमा भर्ना शुल्क, शिक्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्कलाई जनाउने छ ।
Leave a Reply