हेल्थ टुडे,
काठमाडौ,५ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र सङ्घका उपमहासचिव डा. नतालिया कनेमले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, परिवार योजना, महिला हिंसा अन्त्यका क्षेत्रमा आगामी दिनमा युएनएफपीएले थप सहयोग गर्ने आश्वासन दिएकी छन् । साथै,उनले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, परिवार योजना तथा महिला सशक्तीकरणका क्षेत्रमा नेपालले गरेका कामको उच्च प्रशंसा गरेकी छन्।
नेपालको पहिलो दुईदिने औपचारिक भ्रमणको क्रममा कार्यकारी निर्देशक डा.कनेमले सोमबार नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय पुल्चोकमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा नेपालको समावेशी संविधान र संविधानले अङ्गिकार गरेका व्यवस्थाले सबै क्षेत्रमा द्रुतत्तर प्रगति एवं उन्नति ल्याउने विश्वास व्यक्त गरेकी छन् । ‘ती क्षेत्रमा नेपालले अवलम्बन गरेका नीति र लगानीले धेरै राम्रा रहेका छन् । यसले नेपाली महिला र किशोरीको जीवनस्तरमा आमूल सुधार ल्याउने मैले विश्वास लिएको छु तर यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ ।’ उनले भनिन् ।
सन् १९७१ देखि युएनएफपीएले विशेषगरी सुरक्षित मातृत्व, यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना, महिला हिंसा अन्त्यलगायतका क्षेत्रमा नेपाल सरकारलाई निरन्तर आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ । सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प, गत वर्ष तराई–मधेशको डुवान पीडित महिला तथा किशोरीलाई युएनएफपीएले उच्च मानवीय सहायता प्रदान गरेको थियो ।
पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. कनेमले यस वर्ष युएनएफपीएको ५० औँ तथा जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) को २५ औँ वार्षिकोत्सव रहेको स्मरण गर्दै विगतमा हासिल उपलब्धिसँग साक्षात्कार हुँदै अझ सुरक्षित मातृत्व र परिवार योजनाका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको धारणा व्यक्त गरिन् ।
आगामी महीना नैरोबीमा आयोजना हुने शिखर सम्मेलनमा मातृ मृत्युलाई घटाउने, आधुनिक गर्भ निरोधक साधनको अपूर्ण मागको सम्बोधन गर्ने, किशोरीको शिक्षा तथा स्वास्थ्य अधिकार सुनिश्चितता गर्ने, बालविवाह तथा लैङ्गिक हिंसा अन्त्य गर्न विषयमा थप प्रतिबद्धता आउने कार्यकारी निर्देशक डा कनेमले भनिन् । उनले नेपालले लैङ्गिक समानतामा महत्वपूर्ण सुधारसहित गरीबीमा उल्लेखनीय सुधार, मातृ तथा नवजात शिशु मृत्युमा कमी र प्राथमिक विद्यालय भर्नामा वृद्धि सकारात्मक पक्ष रहेको उल्लेख गरिन् ।
Leave a Reply