हेल्थ टुडे,
काठमाडौ,७ कात्तिकः विभिन्न मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले परीक्षा सार्न माग गरेका छन् । मेडिकल कलेजले असुलेको बढी शुल्क फिर्ता नभएपछि एमबिबिएस अध्ययनरत विद्यार्थीले परीक्षा सार्नुपर्ने माग राखेका हुन् ।
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा बुधबार मागपत्र बुझाउँदै एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीहरुले परीक्षा सार्न माग गरेका छन् । एमबिबिएस पहिलो वर्षको कात्तिक २१ र दोस्रो वर्षको मंसिर १३ गते परीक्षा हुँदैछ।
शुल्क समायोजन र असुलेको बढी शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी रहने भएकाले परीक्षा सार्न माग गर्दै विद्यार्थीले आइओएममा निवेदन दिएका हुन्। निवेदन बुझाउनेमा चितवन, जानकी, युनिभर्सल, गण्डकी र नेसनल मेडिकल कलेजका विद्यार्थी छन् ।
असुलिएको शुल्क फिर्ता तथा परीक्षा सार्न माग गर्दै आइओएम पुगेका विद्यार्थीलाई डिन जगदीश अग्रवालले भने भेट दिएनन् । विद्यार्थीहरुले परीक्षा दिइसकेपछि एक महिना बिदा दिने गरिएको र त्यो बिदा कटौती गरी एक महिना पछाडि परीक्षा सार्न अनुरोध गरेका छन् । कलेजले बढी शुल्क उठाएपछि अधिकांश मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन् ।
Leave a Reply