हेल्थ टुडे,
वीरगञ्ज,८ कात्तिकः सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट बढी शुल्क उठाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कलेजले तोकेको शुल्क नबुझाए परीक्षामा सहभागि हुन नदिने धम्की दिँदै बढी रकम उठाएको विद्यार्थीको आरोप छ । सरकारले काठमाडौ उपत्यका बाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार शुल्क तोकेको छ । तर, नेसनल मेडिकल कलेजले पहिलो वर्षका विद्यार्थीबाट ५५ देखि ६० लाखसम्म उठाएको पाइएको छ ।
कलेजले परीक्षा रजिस्ट्रेसन शुल्क ३५ हजार, लाइब्रेरी शुल्क ३५ हजार, ल्याब शुल्क ३५ हजार, प्रमोसन शीर्षकमा एक लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, विलम्ब शुल्क १६ हजार आठ सय र अन्य शीर्षकमा ४० हजार उठाएको विद्यार्थीहरुको भनाई छ ।
कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले अभिभावकलाई समेत बोलाएर डर, त्रास र धम्की दिँदै बढी शुल्क तिर्न बाध्य गराएको विद्यार्थीको दावी छ । विद्यार्थी र अभिभावकलाई धम्क्याएर उठाएको शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोक्ने चिकित्सा शिक्षा सुधार संघर्ष समितिका संयोजक प्रकाश चन्दले जनाएका छन् ।
अबैध शुल्क फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुको चेतावनी छ ।
Leave a Reply