हेल्थ टुडे,
काठमाडौँ, १ कात्तिक : जी नारायणबहादुर क्षेत्री नेतृत्वको नेपाल औषधि उत्पादक संघ (एपोन) ले पूर्णता पाएको छ । गत बुधबार सम्पन्न २५ औँ साधारण सभाले एपोनको अध्यक्षमा टाइम फर्मास्युटिकलका क्षेत्रीलाई दुई वर्षको कार्यकालका लागि निर्वाचित गरेको थियो । क्षेत्रीले एपोनको विधान अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितका पदाधिकारी मनोनयन गरेर कार्यसमितिलाई पूर्णता दिएका हुन ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा ओम्निका ल्यावरोटोरीका महेश प्रधान, उपाध्यक्षमा आदि रेमिडिजका सन्तोष बराल, महासचिवमा इन्नोभेटिभ फर्मास्युटिकलका विप्लव अधिकारी र कोषाध्यक्षमा मारुती फर्माका प्रभात रुङ्गाटा चयन भएका छन् । रुङ्गाटा पहिलेको कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए । विप्लव महासचिव हुने चर्चा पनि पहिले नै थियो । त्यसैगरि आमन्त्रित सदस्यमा अध्यक्ष पदमा पराजित लोमस फर्मास्युटिकल्सका प्रज्वलजङ्ग पाण्डेलाई चयन गरिएको छ । क्षेत्रीले आफू बिजय भएकै दिन पाण्डेलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए । कार्यसमितिका अन्य सदस्यहरुमा फ्लोरिड ल्यावरोटरीका विजयराज शाक्य, सीटीएल फर्मास्युटिकलका दीपेन्द्र प्रधान, क्वेष्ट फर्मास्युटिकलका पृथ्वी राजभण्डारी, अलाईभ फर्मास्युटिकल्सका सुवर्णभक्त जोशी र म्याग्नस फर्माका प्रेम जाटिया मनोनित भएका छन् ।
Leave a Reply