रमेश भट्ट,
जनस्वास्थ्य भन्नाले कुनैपनि व्यक्ति वा समुदायलाई दीर्घायु तथा स्वस्थ भई बाँच्नका लागि आवश्यक तथा सकारात्मक जीवन पद्धतिका सीपहरूको विकास गर्नु हो । सामूहिक प्रयासबाट नै जनस्वास्थ्यमा सकारात्मक प्रभव पार्न सकिन्छ, जसमा सरकारी तथा गैरसरकारी निकाय साथ साथै समुदाय र व्यक्ति आफैंको विशेष भूमिका रहन्छ ।
हाम्रो सनातन जीवन पद्धति तथा सांस्कृतिक रीतिरिवाज तथा चालचलन यस्ता छन् जसले हामीलाई स्वस्थ भएर बाँच्ने आधार दिएको छ । जनस्वास्थ्यमा सुधार गर्न तिनै रीतिरिवाज, चालचलन तथा परम्परागत क्रियाकलापहरूमा समुदाय र समय सुहाउँदो परिवर्तन गर्न आवश्यक पर्छ । आफ्ना परम्परागत तथा स्थानीय मूल्य–मान्यता तथा महत्वका विषयवस्तुको ख्यालै नगरी, अन्तर्राष्ट्रिय तथा बाह्य प्रभावमा परेर कार्यान्वयन गरेका क्रियाकलापहरूले हाम्रो जनस्वास्थ्यको स्थितिमा सुधार हुनसक्दैन ।
कुनै पनि व्यक्ति वा समुदायको स्वास्थ्य बिगार्न वा सुधार गर्न तीनवटा पक्षहरूले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । उपयुक्त आहार, बिहार र सकारात्मक विचारले व्यक्ति तथा समुदायलाई स्वस्थ भई बाँच्ने अवसर दिन्छ र यी तीन पक्षहरूनै जनस्वास्थ्य सुधारका आधार पनि हुन् ।
स्वास्थ्य खानपानले व्यक्तिको उपयुक्त शारीरिक तथा मानसिक विकास साथै उसलाई रोगहरूविरुद्ध लड्ने शक्ति दिन्छ । हाल बदलिँदो जीवनशैली तथा विश्वव्यापीकरणको प्रभावले हाम्रो खानपान पनि परिवर्तन भएको छ । अत्यधिक मात्रामा नुन, चिनी, रसायन र प्रिजरभेटिभ भएका प्याकड र प्रोसेसड (एबअपभम बलम एचयअभककभम) खानाहरू, जथाभावी विषादी प्रयोग भएका खाद्य पदार्थहरू, स्वादमा जोड दिन प्रयोग भएका विभिन्न हानिकारक रङ र मसला भएका चिजबिजको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । यसैगरी अहिलेको पुस्ताले आधुनिकताको पहिचानका रूपमा विशेष महत्व दिएर खाने विभिन्न बजारिया पेय पदार्थ, फास्टफुड, धूमपान, मद्यपानसहित अन्य तामसी भोजनले पनि स्वास्थ्यमा खतरनाक दीर्घकालीन असर पार्दछ ।
त्यसकारण सरकार तथा यस क्षेत्रमा काम गर्ने गैरसरकारी निकायले त्यस्ता खाद्य वस्तुहरूलाई दुरुत्साहित गर्ने अभियान तथा जनचेतना फैल्याउनु पर्ने देखिन्छ । देशका दुर्गम बस्तीहरूमा घुम्न जाँदा, त्यहाँको होटेलहरूमा बजारिया पेयपदार्थ, बिस्कुट, चाउचाउ सजिलैसित पाउन सकिन्छ तर स्थानीय स्तरमा फलेका फलफूल, तरकारी, खाद्यान्न पाउन निकै मुस्किल हुन्छ ।
सुदूरपश्चिम तथा कर्णाली भेगमा पनि खाद्यान्न अभाव तथा भोकमरी छ भन्दै सरकार तथा गैरसरकारी निकायहरूले बर्सेनि महँगो ढुवानी तिरेर आयात गरेका चामल, खाद्यान्न त्यहाँ पु¥याउँछ तर त्यो ठाउँमा नै उत्पादन गर्न सकिने खाद्यान्न, फलफूल तथा तरकारीका बारेमा खासै प्रोत्साहन तथा अनुसन्धान गरेको भने पाइँदैन ।
हालैमात्र ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्ने नाराका साथ अगाडि सारिएको पोषण सेवा विस्तार अभियान, २०१९’ ले पनि यी कुराहरूलाई महत्वका साथ मनन् गरेर समेटिदिए, केही वर्षमै त्यस क्षेत्रको पोषण अवस्थामा पक्कै पनि सकारात्मक परिवर्तन आउन सक्छ ।
यसैगरी उपयुक्त बिहारअन्तर्गत, शरीरलाई आवश्यक पर्ने नियमित हिँडडुल, घुमफिर तथा व्यायाम पर्दछन् । प्राकृतिक, स्वच्छ तथा सफा वातावरणमा गरिने यस्ता क्रियाकलापले शारीरिक तथा मानसिक स्फूर्ति बढाउनुको साथै रोग लाग्न सक्ने सम्भावना घटाउँछ । हाल बढ्दो क्रममा रहेका विभिन्न नसर्ने रोगहरू (उच्च रक्तचाप, चिनी रोग, क्यान्सर, मानसिक रोग) पनि न्यूनीकरण गर्न यी क्रियाकलापहरू समुदायका मानिसहरूले नियमित रूपमा गर्नुपर्छ ।
तेस्रो जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याउने पक्ष भनेको, व्यक्ति तथा समुदायले अवलम्बन गरेका विचारहरू हुन व्यक्ति विचारले उसको व्यवहार पनि निर्धारण गर्दछ । सकारात्मक र असल विचारहरूको विकास तथा अवलम्बन गर्दा विभिन्न खालका शारीरिक तथा मुख्य गरी मानसिक समस्याहरूबाट मुक्ति पाइन्छ । संसारभरिनै हाल मानसिक रोग एउटा भयावह समस्याको रूपमा देखा परेको छ, जसको एउटा मुख्यकारण आफ्नै कु–विचार र हाम्रो आपसी वैचारिक द्वन्द्व पनि हो ।
हाम्रो समाजमा हाल बढ्दै गइरहेको व्यक्तिवादी सोचको विकास तथा समाजप्रति उत्तरदायित्वको अभावले मानसिक समस्या झन् विकराल स्वरूप लिनसक्ने देखिन्छ । त्यसकारण यस्तो अवस्था न्यूनीकरण गर्न परिवारको सकारात्मक भूमिका साथै सरकारले जनताको स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनका लागि प्रभावकारी तथा दिगो सामाजिक सुरक्षाका कार्यक्रमहरू सुनिश्चित गर्नुपर्ने देखिन्छ ।
(भट्ट,यती स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगन्जका प्रिन्सिपल हुन् ।)
जनस्वास्थ्य सुधारका तीन आधार

Leave a Reply