हेल्थ टुडे,
काठमाडौं, १६ माघ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ विदेशबाट आयात गर्दा भन्सार सहुलियत दिइने बताएका छन् । देउराली जनता फर्मास्यूटिकल्सको २९ औं बार्षिकोत्सवको अवसरमा बिहीबार धापासीमा आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरलेले सो कुरा बताएका हुन् । बिदेशमा निर्माण गरिएको औषधि आयात गर्नु भन्दा कच्चा पदार्थ आयात गर्दा बढी झन्झट र भन्सार महसुल बढी तिर्नु परिरहेको अवस्थालाई मध्यनजर गरेर स्वदेशी औषधि उद्योगहरुलाई प्रोत्साहन गर्न यो नीति अवलम्बन गरिने पोखरेलको दाबी छ । पोखरेलले भने, ‘ कच्चा पदार्थको आयात गर्दा लाग्ने महसुल कम गर्न सरकारले चाडैं गृहकार्य अगाडि बढाउदै छ । यसले कच्चा पदार्थ आयातमा सहज हुने र स्वदेशभित्रै रोजगारी सिर्जना हुने छ । ’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कच्चा पदार्थ आयातमा हुने गरेका समस्या समाधानका लागि विभागले सक्दो सहयोग गर्ने बताए । नेपाली औषधि उद्योगहरुले औषधि निर्यात गर्न चाहे त्यसलाई सहजिकरण विभागले गर्ने ढकालको कथन थियो ।
कार्यक्रममा देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले भारतले नेपालबाट भारत निर्यात हुने ११ अर्व बराबरको घिउ र तेल निर्यात हुदा त्यहाको सरकारले रोक लगाएको तथ्यांक प्रस्तुत गर्दै भारतबाट ४० अर्बको औषधि आयात गर्नु पर्दा नेपाल सरकारले खासै चासो नदेखाएको गुनासो गरे । विदेशबाट औषधि आयात गर्दा एयरपोर्टमा औषधिको कन्टेनर नै जाच गर्ने चलन प्रभावकारी नभएको भन्दै स्टेटिकल टेस्ट गर्दा काम छिटो छरितो र प्रभावकारी हुने भएकाले औषधि व्यवस्था विभागले त्यसमा सुधार गर्नु पर्नेमा जोड दिए । सरकारले मुखले उद्योगको विकास गर्छु भन्दा पनि व्यवहार उद्योग मैत्री हुन नसकेको उनको भनाई थियो । । देउराली जनता फर्मास्यूटिकल्समा अहिले करिव ५०० जना कर्मचारी कार्यरत छन । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले देउराली जनता फर्मास्यूटिकल्सले समाजसेवामा पनि उत्तिकै योगदान गरेको बताए । कार्यक्रममा कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले देउराली जनता गुणस्तरीय औषधि उत्पादनमा सधै लागिपरेको बताइन । कार्यक्रममा १० वर्ष, २० वर्ष र २५ बर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो ।
औषधिको कच्चा पदार्थ आयातमा सहुलियत दिइनेछ : पोखरेल

Leave a Reply