पदमराज जोशी,
आजभन्दा ३२ वर्ष अगाडिको कुरा हो । अर्थात् २०४४ सालतिर जी नारायणबहादुर क्षेत्री जागिरको खोजीमा थिए । मद्रासबाट पोस्टग्र्याजुएट गरेपछि उनी सुहाउँदो अवसर पर्खिरहेका थिए ।
एकबिहान मद्रासको कुनै गल्लीमा चिया पिउँदै थिए । उनको आँखा टाइम्स अफ इन्डिया पत्रिकाको एक विज्ञापनमा अडियो । विज्ञापनमा ‘नेपालको काठमाडौं गएर औषधिको मार्केटिङ गर्ने युवाको आवश्यकता !’ थियो । उनले धेरै नसोची सम्बन्धित ठाउँमा पुगेर दरखास्त हाले । ‘कामको प्रकृति र स्थान राम्रै लाग्यो, धेरै मन डुलाएनन्’, क्षेत्री करिअरको सुरुआती बिन्दु सम्झिन्छन ।
पढाइमा अब्बल, स्वभावले सकारात्मक, बानीले मेहनती र फ्रेस नेपाली युवा थिए, क्षेत्री । यस्तो युवा पाएपछि भारतीय औषधि कम्पनीले उनलाई बजार प्रवद्र्धन र विस्तारका लागि काठमाडौंमा काम गर्ने गरी मेडिकल रिप्रजेन्टेटिभ (एमआर) मा छनोट ग¥यो । आफ्नै देशमा काम गर्न पाइने अवसरले उनी दंग परेर काठमाडौ आए ।
त्यतिबेला नेपालमा भारतीय औषधि कम्पनीको असाध्यै दबदबा थियो । लगभग एकाधबाहेक शतप्रतिशत औषधिको बजार उतैका कम्पनीले कब्जा गरेका थिए । नेपालमा सरकारी स्तरबाट शाही औषधि लिमिटेड र निजी क्षेत्रको केमी ड्रग मात्रै थिए । उनीहरूको उत्पादन नगन्य थियो ।
प्युठानको मध्यमवर्गीय परिवारमा जन्मिएका क्षेत्री जागिरको सिलसिलामा भारतीय कम्पनीको प्रतिनिधि भएर स्वदेशमा काम गरे पनि उनलाई सधैं ‘स्वदेशी औषधिको बजार बिस्तार गर्न पाए कति जाती हुन्थ्यो’ भन्ने लागिरहन्थ्यो ।
‘जागिर त राम्रै थियो तर मनमा एक किसिमको ग्लानी भइरहन्थ्यो’, क्षेत्रीले ३२ वर्षअघिको जागिरेयात्रा स्मरण गरे । त्यो त्यसबेलाको बाध्यता थियो । उनले चाहेर मात्रै हुने अवस्था थिएन । स्वदेशी उत्पादन शून्यजस्तै थियो । अढाई सयजति विदेशी औषधि कम्पनीले नेपालको बजार खर्लप्पै खाएका थिए । क्षेत्रीको यो यात्रा करिब १० वर्ष चल्यो । भारतीय औषधि कम्पनीको प्रतिनिधि भएर उनले नेपालमा काम गरे । बजारका हरेक पक्ष र पाटाहरूमा धाए । उनीहरूका लागि बजार विस्तार गर्दैगर्दा उनी सोच्थे पनि ‘विदेशी औषधि सेवन गरेरै नेपालीको जुनी जान्छ कि के हो ?’ आफैंसँग जिज्ञासा राख्थे, स्वदेशमै औषधि उत्पादन गर्न सकिँदैन र ? उनको जागिरको १० वर्षे यात्राका बीचमा केही नेपाली कम्पनीले औषधि उत्पादन सुरु गरे । नेपाल फर्मास्युटिकल्स, देउराली जनता फर्मास्युटिकल्स, लोमसलगायतकम्पनीका औषधि बजारमा आउन थाले । स्वदेशी औषधि उत्पादनले पाइला चान्न सुरु ग¥यो । स्वदेशी औषधिको सम्भावना देखिन थाल्यो । एकपछिअर्को औषधि कम्पनी स्थापना हुन थाले ।
उपभोक्ताले पनि स्वदेशी औषधिमाथि विश्वास गर्न थाले । विदेशी औषधिको दबदबा रहेको नेपाली औषधि बजार बिस्तार हुँदै गयो । क्षेत्रीले एमआरका रूपमा गरेको १० वर्षे यात्रामा निकै अनुभव बटुलेका थिए ।
एकपछि अर्को स्वदेशी औषधि कम्पनी स्थापना हुन थालेपछि क्षेत्रीले केही अनुभवी साथी खोजे । आफंै नेतृत्व लिए । २०५३ मा टाइम फर्मास्युटिकल्सको स्थापना गरे । एमआरका रूपमा भारतीय कम्पनीको औषधिको बजार विस्तार गर्दा जुन प्रश्नले उनलाई बारम्बार चिमोट्थ्यो, अब उनले आफंै औषधि उत्पादन गरेर स्वदेशी औषधि उद्योगको विस्तारमा इँटा थप्ने काम गरे ।
३२ वर्षअघि नगन्य प्रतिशत स्वदेशी औषधिको बजार भएकोमा अहिले ४५ प्रतिशत बजार स्वदेशी औषधिले ओगटेको छ । हाल नेपालमा ४५ अर्ब रुपैयाँको औषधिको कारोबार हुन्छ, त्यसमध्ये २० अर्बको कारोबार स्वदेशी औषधिले गर्ने गरेको क्षेत्री बताउँछन् ।
क्षेत्रीजस्ता लगनशील मेहनती ५७ वटा स्वदेशी औषधि उद्योगले विभिन्न प्रकारका औषधि उत्पादन गरिरहेका छन् । २० जति स्थापनाको चरणमा छन् । धेरैजसो औषधिमा नेपाल आत्मनिर्भर भइसकेको औषधि उत्पादकहरूको दाबी छ । सरकारले सहयोग गरेको खण्डमा ८० प्रतिशत औषधि देशभित्रै बनाएर आत्मनिर्भर बनाउन सकिने अवस्था भएको जिकिर औषधि उत्पादकहरूको छ । त्यसका लागि उनीहरूको सर्त छ, नेपालमै पर्याप्त उत्पादन भइरहेका औषधिको विदेशबाट आयात रोक्नुपर्छ ।
मान्छेले चाहेर मात्र हुँदैन समयक्रमले धेरैथोक दिन्छ भने झैँ देशलाई औषधिमा आत्मनिर्भर बनाउने अभियानको नेतृत्व गर्ने अवसर आज जी नारायणबहादुर क्षेत्रीले पाएका छन् । कुनै समय स्वदेशी औषधि खान नपाएरै मरिन्छ कि भन्ने चिन्ता गर्ने क्षेत्री आज स्वदेशलाई औषधिमा आत्मनिर्भर बनाउने अभियानको नेतृत्वकर्ता बनेका छन् । गत महिना राजधानीमा भएको स्वदेशी औषधि उत्पादकहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा उनी चुनिए । अब उनको काँधमा औषधिको ठूलो जिम्मेवारी थपिएको छ ।
हुन त उनी एपोनमा विभिन्न भूमिकामा विगत १७ वर्षदेखि थिए तर योपटक उनलाई एपोनको प्रमुख जिम्मेवारी मिलेको छ । अध्यक्ष बनाएर औषधि उत्पादकहरूले उनलाई ठूलो गहन जिम्मेवारी थमाएका हुन् ।
औषधिमा आत्मनिर्भर बनाउने अभिभारा
औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने उनले ३२ वर्षपहिले देखेको सपना विपनामा परिणत गर्नु सानोतिनो प्रयासले हुने कुरा होइन भन्ने उनले बुझेका छन् । यो कुरा सरकारलाई बुझाएर निर्णय गराएर कार्यान्वयन गराउनेसम्मको जिम्मेवारी निर्वाह गर्नुपर्ने ठाउँमा पुगेका छन् शान्त, शालीन र भद्र व्यक्तित्व भएका क्षेत्री । औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन एपोनले विगत केही बर्षदेखि सरकारसँग माग गर्दै आइरहेको छ । केहीवर्ष पहिले कांग्रेसका नेता गगन थापा स्वास्थ्यमन्त्री भएका बेला यो कुरा थप अगाडि बढेको थियो । थापाले नेपालमै पर्याप्त उत्पादन भइरहेका ३० प्रकारका औषधिको आयात बन्द गर्न एक समिति बनाएर यसलाई कार्यान्वयन गर्न औषधि व्यवस्था बिभागलाई जिम्मा दिएका थिए । यो प्रक्रिया अगाडि बढ्दैगर्दा सरकार परिवर्तनसँगै कहिले उद्योग मन्त्रालय त कहिले वाणिज्य र अर्थ हँुदै यो प्रक्रिया अल्मलिएको अवस्थामा छ । क्षेत्रीले यसलाई सरकारसँगको सहकार्यमा टुंगोमा पु¥याउने एजेन्डा अगाडि सारेका छन् । भन्छन्, ‘म यही एजेन्डाका आधारमा निर्वाचित भएको हँु । यसलाई जसरी पनि कार्यान्वयन गराउन पहल गर्छु ।’
आशावादी क्षेत्री
क्षेत्री ३२ वर्षपहिले र अहिलेको सुधारोन्मुख देखेर आशावादी छन् । भन्छन्, ‘औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । यसका लागि सरकारको सहयोग चाहिन्छ । नेपालमै पर्याप्त उत्पादन भइरहेका औषधिको आयात बन्द गरिदिने हो भने हामी ८० प्रतिशत औषधिमा आत्मनिर्भर हुन्छौं ।’
औषधिमा आत्मनिर्भर बनाउनसके देशभित्रै हजारौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिने, पुँजी परिचालन हुने क्षेत्रीको दाबी छ । औषधि कम्पनीले रोजगारी सिर्जना, पुँजी परिचालन र राजस्व सिर्जना गर्ने कुरा उनी आफैंले स्थापना गरेको टाइम फर्मास्युटिकल्सको उदाहरण दिन चाहन्छन् । डेढ करोडको लगानी र २५ जना कर्मचारीबाट सुरु गरेको टाइमको अहिले एक अर्बभन्दा बढीको लगानी छ । चार सयभन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् । आठप्रकारका औषधि उत्पादबाट सुरु भएको टाइमले अहिले दुई सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने गरेको छ ।
टाइमजस्तै ५७ औषधि कम्पनीहरूले पनि आफ्नो पुँजी, क्षमता, जनशक्ति र औषधि उत्पादनमा उल्लेखनीय सुधार गरेको उनी बताउँछन् । नेपालमा औषधि कम्पनीको संख्यासँगै आधुनिक प्रविधिको विकास भइरहेकोले गुणस्तरीय औषधि उत्पादन भइरहेको क्षेत्रीको दाबी छ । नेपालमा औषधिको सम्भावना भएरै थप २० वटा नयाँ औषधि कम्पनीले उत्पादन सुरु गर्न लागेको र यसले औषधिमा देशलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुग्ने उनको विश्वास छ ।
टाइमको जन्मकथा
औषधिको क्षेत्रमा अनुभव बटुलेका, राष्ट्रिय चेत भएका केही साथीहरूमिलेर नेपालमै औषधि कम्पनी खोल्ने योजना बन्यो । दुई दशकअघि यो सोचेजति सजिलो थिएन । औषधि कम्पनी खोल्न न त पर्याप्त पुँजी थियो न पूर्वाधार । थियो त अनुभव, आँट, जोस र इमानदार प्रयास थियो । त्यसमा जोडिएको थियो राष्ट्रिय भावना । १२ वर्ष भारतीय औषधि बजारमा काम गर्दा बचाएको केही रकम थियो । केही प्युठानी र केही चितवनका साथीभाइजम्मा भएर रकमको जाहो ग¥र्यौँ । क्षेत्रीले भने, ‘हाम्रो इमानदार प्रयास र हिम्मतलाई साथ दियो, एनआईडीसीले । एनआईडीसीले ५५ लाख ऋण दियो । त्यत्ति नै हामी साथीभाइले जम्मा गरेर डेढ करोडको लगानीमा टाइम फर्मास्युटिकल्स सुरु ग¥र्यौं ।’ ट्याबलेट, क्याप्सुल र ड्राई मल्हमलगायत आठप्रकारका औषधि उत्पादनबाट सुरु भएको टाइम फर्मास्युटिकल्सले अहिले दुई सयभन्दाबढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ । औषधि बजारमा उसको उपस्थिति गर्बिलो बन्दै गएको छ । एक अर्बभन्दा बढी लगानी पुगेको यो कम्पनीमा अहिले चार सयभन्दा बढीले रोजगार पाएका छन् । नवलपुरको गैंडाकोटमा स्थापना गरिएको यो कम्पनीलाई मंसिर २ गते २३ वर्ष पूरा भएको छ ।
टाइमले अहिले लोटसल्लाबाट एन्टिक्यान्सर सारतत्वको उत्पादन सुरु गरेको छ । यसबाट पाठेघरको क्यान्सर र स्तन क्यान्सरमा प्रयोग हुने औषधि उत्पादन हुन्छ । लोटसल्लाबाट निस्किने इन्टरमिडिएट केमिकल विदेश निर्यात गर्ने गरेकोमा केही वर्षमै आफैं एन्टिक्यान्सर औषधि आफंै उत्पादन गर्ने महत्वाकांक्षी योजनाका साथ टाइम अगाडि बढिरहेको छ । क्षेत्री भन्छन्, ‘केही वर्षभित्र एक्टिक्यान्सर पेक्ल टेक्सल बनाउँछांै ।’
८० प्रतिशत आत्मनिर्भरको अपेक्षा
‘आँट हामीसँग छ । सरकारले सहयोग गर्ने हो भने औषधिमा ८० प्रतिशत आत्मनिर्भर बन्न सकिन्छ,’ क्षेत्रीले दाबी गरे, ‘३२ वर्षअघि उपस्थिति थिएन भन्दा हुन्छ, अहिले ४५ प्रतिशत बजार स्वदेशी औषधिले ओगटेको छ । सरकारले स्वदेशमै पर्याप्त उत्पादन हुने औषधिको आयात बन्द गर्नुपर्छ हामी आत्मनिर्भर हुन्छौं ।’
सरकारले ठोस नीति ल्याउनुपर्ने उनको माग छ । सरकारले आँट नगरे गाह्रो देख्ने उनी भन्छन्, ‘बंगलादेश सरकारले पहिले ९५ प्रतिशत औषधि आयात गथ्र्यो पछि आफैं औषधि उत्पादन गर्न थालेपछि सरकारले आत्मनिर्भर हुने नीति ल्यायो । स्वदेशमा उत्पादन हुने औषधिको बाहिरबाट आयात बन्द गर्ने नीति लियो र अहिले बंगलादेश औषधिमा लगभग पूर्णरूपमा आत्मनिर्भर छ ।’
बंगलादेशका औषधि उत्पादकसँग कम्तीमा पनि पाँच प्रकारका नेपाली औषधिलाई प्रवेश दिन आफूले अनुरोध गर्दा उनीहरूले स्विकार गरेको तर एउटा सर्त अगाडि सारेको क्षेत्री स्मरण गर्छन् । ‘प्रवेश त दिन्छौँ तर ती नेपाली औषधि बंगलादेशमा उत्पादन भइरहेका हुनुहुँदैन’,भारत सरकारले पनि देशलाई आत्मनिर्भर बनाउन सरकारी संयन्त्र बनाएर काम गरेकै परिणाम औषधिमा आत्मनिर्भर भएको क्षेत्रीको दाबी छ ।
तत्कालका लागि नेपाल सरकारले ३० देखि ४० प्रकारका औषधिको आयातमा रोक लगाइदिए आत्मनिर्भरताको बाटोका जान सहयोग पुग्ने उनी बताउँछन् । औषधि विदेश निर्यात गरेर देशको व्यापार घाटा कम गर्न समेत सहयोगी हुने क्षेत्रीको दाबी छ । २०७२ सालमा गएको महाभूकम्पका बेला र त्यसको एक वर्षपछि भएको भारतीय नाकाबन्दीमा कुनै औषधिको कमी हुन नदिएर स्वदेशी औषधि उत्पादकहरूले आफूहरू औषधिमा आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको सन्देश दिएको क्षेत्रीको दाबी छ ।
नेपाली औषधिको गुणस्तर विदेशका अन्य औषधिको तुलनामा कम्ती नभएको क्षेत्रीको जिकिर छ । नेपालमा औषधि उत्पादन लगानीमात्र नभएर प्रविधिका दृष्टिले पनि अब्बल बनिसकेको उनको भनाइ छ । प्रतिस्पर्धात्मक बजारमा कसैले पनि गुणस्तरमा सम्झौता नगर्ने उनी बताउँछन् ।
पछिल्ला दिनमा नेपाली औषधिको गुणस्तर सुधार भएकै कारण चिकित्सकहरूले पनि नेपाली औषधि प्रिस्क्राइब गर्ने गरेको उनको मत छ । तर बजारमा नेपाली औषधिको गुणस्तर कमजोर हुन्छ भन्ने मान्यता भ्रम मात्र भएको उनी बताउँछन् । अरू देशको तुलनामा नेपाली औषधि सस्तो भएको पनि उनी दाबी गर्छन् ।
सरकारले केही नीतिगत व्यवस्था गरिदिए नेपाली औषधि विदेश निर्यात गरेर व्यापार घाटा कमगर्न सहयोग पुग्ने उनले सम्भावना देखेका छन् ।
विदेशी औषधिको आयातमा कटौती गरेपछि स्वदेशी औषधि उत्पादकहरूले औषधिको मूल्यमा एकाधिकार कायम गर्दै मूल्य बढाउन सक्ने आशंका उपभोक्तामा छ । तर क्षेत्री यो कुरालाई अस्विकार गर्छन् । उनी भन्छन्, ‘हाम्रोमा त्यो सम्भव छैन । औषधि व्यवस्था विभागले औषधिको मूल्य तोक्ने अधिकार छ । ९० प्रकारका औषधिको मूल्य पनि तोकी सकेको छ । सरकारले नै मूल्य नियन्त्रण र मूल्य तोक्ने अधिकार भएकाले यो आशंका मात्र हो ।’
स्वदेशी वस्तुलाई प्राथमिकता
‘हामीले कुरा धेरै ग¥यौं । अब काम गर्ने बेला आएको छ । स्वदेशमा निर्माण हुने वा उत्पादन हुने वस्तु र सेवाको उपभोग गर्ने बानी बसाल्नु पर्छ । राष्ट्रियता भनेको त्यही हो,’ उनले भने । नेपालमा उत्पादन हुने ढाका कपडा होस् वा औषधि त्यही उपभोग गर्नुपर्छ । हाम्रो देशमा औषधीय गुण भएका थुप्रै जडीबुटी र वनस्पति छन् । तिनको सही सदुपयोग र प्रयोग हुन नसकेको क्षेत्री बताउँछन् । सही सदुपयोग हुन सकेनेपालीको आर्थिक स्तर वृद्धि हुने क्षेत्रीको बुझाइ छ ।
उनले दोलखामा एक करोडको लगानीमा लोटसल्लाको खेती गर्न सहयोग गरिरहेका छन् । देशभित्रै औषधिजन्य वनस्पतिको उत्पादन गर्न सकिए ग्रामीण क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार आउने उनी देख्छन् । भन्छन्, ‘हामीले देशभित्रको पुँजी बाहिर पठाउनुको सट्टा देशभित्रै राख्ने हो । स्वदेशी वस्तुको उत्पादन र उपभोगमा ध्यान दिन सकियो भने मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुनेछ ।’
दुई वर्षको रोडम्याप
एपोन अध्यक्षमा क्षेत्रीले दुईवर्ष जिम्मेवारी सम्हाल्ने छन् । दुईवर्षको समय त्यति धेरै होइन । तर उनले यो समयसीमा स्वदेशी औषधि उद्योगका लागि धेरै काम गर्नु पर्नेछ । औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने सबाल नै ठूलो भएको उनको निक्र्योल छ । एपोनमा क्षेत्रीलाई सबैको सहयोगको वातावरणछ । औषधि उद्योगमा लामो अनुभव भएका प्रदीपजंग पाण्डे, महेश गोर्खाली, उमेशलाल श्रेष्ठ, शंकर घिमिरे, दीपक दाहालसहित सबैको सद्भाव क्षेत्रीलाई छ । सहकार्य, सहयोग र सल्लाहअनुसार अगाडि बढेर आफ्नो रोडम्यापमा सफल भएरै छाड्ने क्षेत्रीको योजना छ ।
क्षेत्रीको टिममा अनुभवी र युवा औषधि व्यवसायीछन् । युवा व्यवसायी विप्लव अधिकारीलाई महासचिव बनाएका छन् भने अनुभवी महेशप्रधान वरिष्ठ उपाध्यक्ष र सन्तोष बराल उपाध्यक्ष भएका छन् । प्रभात रुंगटा कोषाध्यक्ष र सदस्यमा अनुभवी सुवर्णभक्त जोशी कार्यकारी सदस्य भएका छन् । पृथ्वी राजभण्डारी, प्रेम जाटिया, विजयराज शाक्य र दीपेन्द्र प्रधान कार्यकारी सदस्य छन् । औषधिको आयात निरुत्साहित गर्ने र स्थानीय उत्पादन प्रोत्साहित गर्ने आफ्नो पहिलो प्राथमिकता भएको क्षेत्री बताउँछन् । हेल्थ डेलिभरि सिस्टममा भएका विकृति हटाउने र त्यसमा सुधार गर्ने दोस्रो योजना छ । औषधिबजारका विकृति हटाउन अचारसंहिता बनाएर लागू गर्ने उनको योजना छ । स्वदेशमै न्युट्रास्युटिकल्स उत्पादनका लागि पहल गर्ने उनको दुईवर्षे कार्यकालका प्राथमिकतामा परेका योजना हुन् ।
Leave a Reply