हेल्थ टुडे,
काठमाडौं, १ असोज : आज विश्व विरामी सुरक्षा दिवस । ‘स्वास्थ्यकर्मीको सुरक्षा ः विरामी स्वास्थ्यको लागि प्राथमिकता’ भन्ने मूल नाराका साथ आज विश्व बिरामी सुरक्षा दिवस मनाईदै छ । विश्व स्वास्थ्य संगठनले हरेक बर्ष १७ सेप्टेम्बरका दिन यो दिवस मनाउन आव्हान गरे अनुसार नेपालमा पनि आज यो दिवस मनाइदै छ । औपचारिक रुपमा गत वर्षदेखि नेपालमा यो दिवस मनाउन थालिएको हो । विरामीले स्वच्छ वातावरणमा कुनै भेदभाव विना गुणस्तरीय उपचार सेवा पाउनु पर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ विरुद्ध संक्रमितको उपचारका खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा आज बेलुका ८ बजे घर घरमा दीप प्रज्वलन गरि उनीहरुप्रति सम्मान व्यक्त गर्दै दिवस मनाउन अनुरोध गरेको छ ।
कोभिड – १९ संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अनुरोध गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बेलुका सात बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए । विरामी सुरक्षा दिवसमा विरामीको उपचारमा रातदिन संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर विरामी र चिकित्सक दुबैको सुरक्षालाई ध्यानमा राखेर सरकारले यो दिवस मनाउन चालेको डा. पोखरेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विरामीले सुरक्षित वातावरणमा समयमा उपचार पाउनु पर्ने अधिकारलाई शुनिश्चित गर्न यो दिवसले हामीलाई थप प्रेरणा दिने बताए ।
Leave a Reply