हेल्थ टुडे,
काठमाडौं, १४ कात्तिक : जटिल कोरोना संक्रमितको उपचारमा विश्वमै प्रभावकारी मानिएको रेम्डेसिभिरको अभाव खट्किन नदिन र नेपालमा सबैभन्दा सस्तोमा उपलब्ध गराउन यति केम डिस्टिब्यूटर्सले फेरि २० हजार भाइल रेम्डेसिभिर नेपाल ल्याउन लागेको छ । औषधि उत्पादनमा विश्वमै प्रख्यात भारतको सिप्ला कम्पनीले उत्पादन गरेको रेम्डेसिभिरको मूल्य नेपालमा प्रति भाइल ५ हजार ३ सय ६० रुपैया उपलब्ध हुने छ । यति केम डिस्टिब्यूटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले प्रति भाइल ५ हजार ३ सय ६० रुपैया रेम्डेसिभिरको यो मूल्य नेपालमा अहिलेसम्मकै सबैभन्दा कम भएको जानकारी दिए । उनले भने, ‘ २० हजार भाइल रेम्डेसिभिर मध्ये एक दुई दिनभित्रै ३ हजार भाइल आइपुग्छ । त्यसपछि ५ हजार भाइल र त्यसपछि १२ हजार भाइल रेम्डेसिभिर नेपाल आउदै छ । ’
औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको मापदण्ड भित्र रहेर यति केमले संक्रमितको आवश्यकतालाई ध्यानमा राखेर सबैभन्दा पहिले भदौको दोश्रो हप्ता नेपालमा रेम्डेसिभिर ल्याएको थियो । त्यति बेला यसको मूल्य प्रति भाइल ६ हजार ४ सय रुपैया थियो । औषधि व्यवस्था विभागले जति सक्दो मूल्य घटाउन आग्रह गरेपछि उत्पादक कम्पनी सिप्लासंगको छलफल पछि समाजिक उत्तरदायित्वलाई समेत बिचार गरेर नेपालमा अहिलेसम्म आयात भएका रेम्डेसिभिर भन्दा सबैभन्दा कम मूल्य तोकिएको वैद्यले दावी गरे ।
यति केम जटिल किसिमका रोगहरु मुटु, मिर्गौला, एचआईभी, क्यान्सर लगायतका रोगको उपचारमा प्रयोग हुने औषधिको सुरुवाती आयात गर्ने प्रतिष्ठित डिस्टिब्यूटर्स हो । यतिकेम नेपालमा औषधि उत्पादनदेखि विदेशी औषधिको थोक विक्रेता हो । गत हप्तादेखि जटिल संक्रमितको संख्या बढेपछि रेम्डेसिभिरको अभाव देखिएको थियो ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अहिलेको अभावलाई कम गर्न सकेसम्म सस्तोमा उपलब्ध हुने गरि रेम्डेसिभिर ल्याउन स्विकृति दिएको बताए । सिप्लाबाट उत्पादित रेम्डेसिभिर नेपालमा प्रभावकारी रहेको कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
Leave a Reply