हेल्थ टुडे,
काठमाडौं, ४ कात्तिक : फोक्सो सम्बन्धी ५१ औं युनियन विश्व सम्मेलन आजदेखि सुरु हुने भएको छ । सम्मेलनको उद्घाटन सत्रमा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले सम्बोधन गर्ने भएका छन् । द युनियनको आयोजनामा मंगलबारदेखि सुरु हुने फोक्सो स्वास्थ्य सम्बन्धी विश्व सम्मेलन पाँच दिनसम्म चल्ने छ ।
कोभिड–१९को कारण यस वर्ष भर्चुअल रुपमा सम्मेलन आयोजना हुन लागेको आयोजकले जनाएको छ । उद्घाटन सत्रमा सम्भावित कोभिड–१९ खोप स्विकार्यताको नयाँ विश्लेषण सार्वजनिक गरिने छ । विश्व सम्मेलनमा फोक्सो स्वास्थ्य, क्षयरोग र कोभिड–१९ महामारीको विविद् पक्षका बिषयमा केन्द्रित हुने छ । द युनियन, क्षयरोग र फोक्सो रोग विरुद्व बिगत सय वर्षदेखि निरन्तर विश्वव्यापी रुपमा कार्यरत संस्था हो । मंगलबारदेखि सुरु हुन लागेको विश्व सम्मेलनमा १३५ देशका नीति निर्माता, चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धाकर्ताहरु, वरिष्ठ सञ्चारकर्मी र एक हजार जना फोक्सो रोगबाट प्रभावितहरु सहभागी हुने आयोजक द युनियनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सम्मेलनमा मध्यम र कम आय भएका देशका नागरिकहरुले फोक्सो रोग, क्षयरोग र कोभिड–१९ का कारण सामना गरिरहेका समस्या र यसले परेको प्रभावका बिषयमा विभिन्न कार्यपत्र प्रस्तुत हुने छन् । उद्घाटन समारोहमा द युनियनका अध्यक्ष प्रा. गाय माक्स, अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टन, यूएनएड्सका उपकार्यकारी निर्देशक श्यानन हेडर, बेलायती अभिनेत्री एवं द युनियनकी एमबेसेडर क्लेयर फोरलानी,विकीमेडिया फाउण्डेसनका सिईओ दिव्य सोजन र तामारिन ग्रीन सहभागी हुने छन् । द युनियनका अनुसार हरेक वर्ष करिव १० करोड व्यक्तिको मृत्यु फोक्सो रोगका कारण हुने गरेको छ । विश्व सम्मेलनमा नेपालबाट पनि नीति निर्माता, स्वास्थ्यकर्मी, अनुसन्धानकर्मी र स्वास्थ्य पत्रकारहरु सहभागी हुने छन् ।
Leave a Reply