हेल्थ टुडे,
काठमाडौं,२९ जेठ : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले कोरोना विरुद्घको कोभिसिल्ड खोपको पहिलो डोज लगाएपछि दोश्रो खोप लगाउने अत्तोपत्तो नहुनु बिडम्बना भएको बताएका छन् । फागुन २३ गतेपछि पहिलो मात्रा कोभिसिल्डको पहिलो डोज लगाएका ५५ देखि ६४ बर्षका नागरिकले दोश्रो डोज खोप लगाउन नपाउनु सरकारको असफलता भएको उनको दावी छ । नेपाली कांग्रेस बैतडी प्रदेश नम्बर ‘ख’ ले शनिबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता लेखकले सरकारको असफताकै कारण कोरोनाको दोश्रो लहरका कारण हजारौले ज्यान गुमाएको बताए ।
सरकारकै असफताकै कारण आफूलगायत अधिकांश नेता कोरोना संक्रमितका लागि अस्पतालमा शैया, अक्सिजन, आईसियू र भेन्टिलेटर खोज्नमै बितेको बताउदै नेता लेखकले भने, ‘अक्सिजन अभावमा सयौंले अस्पतालमै ज्यान गुमाएको दृष्यले देशमा सरकार नभएको प्रत्याभूति भयो ।’ अहिले नागरिकलाई कोरोनाको खोप उपलब्ध गराउनु पर्नेमा सरकारले गफ मात्र दिएर सपनामात्र देखाइरहेको दावी गर्दै नेता लेखकले जनताले अक्सिजन समेत उपलब्ध गराउन नसक्ने वर्तमान सरकारले रेल ल्याउने र पानी जहाज ल्याउने गफ भद्दा मजाक भएको बताए ।
सरकारले जनताको स्वास्थ्यका लागि काम गर्नु पर्नेमा औषधि, उपकरण, खोप र अक्सिजनमा समेत कमिसन खाएर जनताको विश्वास गुमाएको लेखकले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किरण गिरी, नेपाली कांग्रेस बैतडीका पूर्व सभापति शिवराज भट्ट, नेपाली कांग्रेस बैतडीका उपाध्यक्ष चतुरबहादुर चन्द, पाटन नगरपालिकाका मेयर केशव चन्द, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि उत्तरबहादुर ऐर, हरिमोहन भण्डारी, पार्टी सचिव प्रेमबहादुर चन्द, कोषाध्यक्ष रमेश पाण्डे, प्रदेश ख का अध्यक्ष तेजबहादुर चन्द र प्रदेश ख का सचिव शिवराज भट्ट लगायतले कोरोना संक्रमणको अवस्थाको बिषयमा आआफ्ना विचार व्यक्त गरेका थिए ।
Leave a Reply