हेल्थ टुडे,
धरान, १६ असार : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन् ।
प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक हप्ता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायतको माग गर्दै आन्दोलनरत संघर्ष समितिले पदाधिकारी असक्षम एवं गैरजिम्मेवार भएको भन्दै राजीनामा माग गरेका छन् । समितिले स्वास्थ्यमन्त्री अथवा प्रधानमन्त्रीकै अग्रसरतामा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि माग गरेको छ ।
भविश्यमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरुले दिएको सुझाव अनुसार विशिष्टिकृत एवं विज्ञहरुको समुह बनाई उक्त समुहले सिफारिश गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि संघर्ष समितिले माग गरेको छ ।
मंगलबार संघर्ष समितिसँग वार्ता गर्ने तय भए पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएपछि वार्ता भाँडिएको थियो । संघर्ष समितिका सदस्य रहेका डा. पदम नेपालीका अनुसारप्रतिष्ठानका सबैजसो पेशागत संगठन, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीले विभिन्न माग राख्दै संघर्ष समिति गठन गरी असार १ देखि उपकुलपति कार्यालय अगाडि धर्ना र विरोधसभा गर्दै आएका थिए ।
डा. एसपी रिमालको संयोजकत्वमा गठित संघर्ष समितिमा प्रतिष्ठानका पेशागतसंगठन, फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी रहेका छन् ।
Leave a Reply