हेल्थ टुडे,
काठमाडौं, १८ असार : कोभिडविरुद्ध खोपको प्रभावकारिता देखिएपछि अहिले खोप लगाएकालाई विभिन्न क्षेत्रमा सहुलियत दिन थालिएको छ । बैदेशिक रोजगारीमा जान मात्र नभएर जहाजमा यात्रा गर्दा समेत खोप लगाएकाले सहुलियत पाउन थालेका छन् । श्री एयरलाइन्सले कोभिडविरुद्ध खोप लगाएकालाई १० प्रतिशत छुट दिने आकर्षक योजना ल्याएको छ ।
कोभिड–१९ विरुद्धको दुवै चरणको खोप लगाइसकेका यात्रुलाई देशभित्रका सबै गन्तव्यमा तोकिएको भाडदरमा १० प्रतिशत छुट दिने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरका अनुसार यो योजना शुक्रबारदेखि लागू गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको यो योजनामार्फत खोप लगाइसकेका यात्रुलाई थप फाइदा हुनका साथै सरकारको खोप कार्य क्रमलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको उनले दावी छ । ’हालको अवस्थामा सुरक्षित हवाई सेवा नै मुख्य प्राथमिकतामा छ । थप सुरक्षित होस् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेका हौं,’ उनले भने,’ दुवै चरणको खोप लगाइसकेका यात्रुले श्रीको नियमित उडानमा १० प्रतिशत छुट पाउन सक्नेछन् । ’
दुई महिनाको निशेधाज्ञा पछि हवाई सेवा सन्चालनमा आएको छ । उनका अनुसार यात्रुले छुटको यो योजनाको लाभ कम्पनीको सबै टिकट बिक्री कक्षबाट लिन सक्नेछन् । यो योजनाबाट लाभ लिन यात्रुले सरकारले दिएको खोप कार्ड पेश गर्नुपर्ने प्रावधान छ ।