हेल्थ टुडे,
वीरगञ्ज, २५ असोज : वीरगञ्ज महानगरपालिकामा ५ वटा वर्थिङ सेन्टर बनाउन लागिएको छ । महानगरपालिकाको विभिन्न वडामा वर्थिङ सेन्टर भवन बनाउन लागिएको हो ।
राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट वर्थिङ सेन्टर बनाउन लागिएको वीरगञ्ज महानगरपालिकाको पूर्वाधार विकास शाखाले जनाएको छ । वीरगञ्ज–२२ जगरनाथपुर, २६ नम्बर सुगौलीविर्ता, १७ नम्बर अलौ, ३१ नम्बर बेल्वा र २९ नम्बर बसडिल्वामा चालु आर्थिक वर्षभित्र वर्थिङ सेन्टर बनिसक्ने महानगरपालिकाले जनाएको छ ।
५ वटा वर्थिङ सेन्टर र ५ वटा विद्यालय भवन गरी १० वटा भवन बनाउन ठेक्का आव्हान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले जानकारी दिए ।
प्रतिवर्थिङ सेन्टर लागत १ करोड ११ लाख रुपैयाँ अनुमान गरिएको छ । वर्थिङ सेन्टरको भवन १ तलाको भएपनि सुविधा सम्पन्न हुने जनाइएको छ ।