हेल्थ टुडे,
काठमाडौं, १२ कात्तिक : स्त्री क्यान्सर रोग समाज, नेपालले शुक्रबार तारकेश्वर ९ मा महिलाहरुका लागि स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । महिला सहयोगी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा तारकेश्वरको शुभकामनाचोक स्थित आजिमा पार्टी भेन्यूमा भएको चेतनामूलक कार्यक्रममा करिव १०० जना महिलाको सहभागिता थियो ।
कार्यक्रममा स्त्री क्यान्सर रोग समाज, नेपालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसूतिरोग विज्ञ डा. शिला बर्माले स्तन क्यान्सरको रोकथाम र प्रारम्भिक परिक्षण महिला स्वयंले गर्न सक्ने भए पनि जनचेतनाको अभावमा रोग अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल आउने प्रवृतिका कारण समस्या उस्तै रहेको बताइन । डा. बर्माले भनिन, ‘ स्तनको आकारमा फरक आएको छ वा गाठागुठी आएको छ भने आफै पनि ऐना अगाडि उभिएर थाहा पाउन सकिन्छ । शंका लागेपछि परिक्षण गराउनु पर्छ । ’ अव्यवस्थित जिवनशैलीका कारण स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अन्य क्यान्सर बढ्दै गइरहेको तथ्यांक प्रस्तुत गर्दै डा. बर्माले घरको कामधन्दासँगै आफ्नो स्वास्थ्य परिक्षणलाई पनि महत्व दिनु पर्नेमा जोड दिइन ।
स्त्री तथा प्रसूति रोग विज्ञ डा. ज्योति राइमाझीले उमेर बढ्दै गएपछि क्यान्सरको जोखिम पनि बढ्दै जाने भएकाले परिक्षणमा ध्यान दिनु पर्ने बताइन । कार्यक्रममा उपस्थित महिलाहरुले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर लगायतका बिषयमा विज्ञहरुसँग विभिन्न जिज्ञाषा राखेका थिए । कार्यक्रमबाट धेरै महिला लाभान्वित भएकाले भविश्यमा पनि यस प्रकारका जनचेतनामूकल कार्यक्रम सञ्चालन गरिने महिला सहयोगी बचत तथा ऋण सहकारी संस्थाकी सहायक कार्यकारी प्रमुख नानीसोभा महर्जनले जानकारी दिइन ।