हेल्थ टुडे,
हेटौडा, २५ कार्तिक : वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त भएका छन् । उनले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गरि नेपाली कांग्रेसका सांसद लामालाई स्वास्थ्य मन्त्री र माओवादीका शालिकराम जम्कट्टेललाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका हुन । मुख्य मन्त्री पाण्डेले कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । नव नियुक्त मन्त्री लामा र जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।