हेल्थ टुडे,
काठमाडौं, २० मंसिर : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणा क्षेत्रमा फड्को मारेको छ । ख्यातिप्राप्त अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सञ्चालित नेपाल सरकारको एक मात्र अंग प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।
केन्द्रले ८०० जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको खुशीयालीमा सोमबार केक काटेर खुशी साटासट गरिएको थियो । बिसं २०६९ मा मिर्गौला प्रत्यारोपण सुरु गरेको केन्द्रले दशकको यात्रा पुरा नगर्दै ८०० जनामा मिर्गौला प्रत्यारोपण गर्न सक्नु ठूलो उपलल्धी भएको प्रत्यारोपण विज्ञहरु बताउछन ।
प्रत्यारोपण गरिएकामध्ये ९८ प्रतिसतमा सफलता मिलेको केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. पुकारचन्द्र श्रेष्ठ बताउछन् । विज्ञहरुका अनुसार ९८ प्रतिसत सफलता विश्वकै मिर्गौला प्रत्यारोपण क्षेत्रका लागि सफल र अनुकरणीय हो । डा. श्रेष्ठकै नेतृत्वमा ८०० वटा मिर्गौला प्रत्यारोपण सफल भएका हुन ।
गत एक वर्ष जति केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेम ज्ञवाली नियुक्त भएर आए पनि कोराना भाइरसको बढ्दो संक्रमण र लकडाउनका कारण उनले प्रत्यारोपणलाई गति दिन सकेका थिएनन् । गत असोजमा सरकारले डा. ज्ञवालीलाई हटाएर डा. श्रेष्ठलाई पुन निर्देशक बनाएपछि केन्द्रले मिर्गौला प्रत्यारोपणमा गति लिन थालेको छ । केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणमा पनि सफलता पाएको छ । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण डा. श्रेष्ठकै अगुवाईमा केन्द्रमा भएको थियो । केन्द्रले एकपछि अर्को सफलता प्राप्त गर्नमा बरिष्ठ नेफ्रालोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेश कुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, नि.नर्सिङ्ग निर्देशक कोपिला दाहालको भूमिका महत्वपूर्ण भएको डा. श्रेष्ठ बताउछन । नेफ्रोलोजी विभागबाट डा लुसन सिंह डा ललित कुमार यादव, डा सुरेश महर्जन तथा युरोलोजि टोलीमा, डा विजयमान सिंह कटुवाल, डा विपेश श्रेष्ठ, डा रवि किरण गौतम, डा किरण जंग कुँवर लगायतको चिकित्सकिय टीम, नर्सिड स्टाफ, अन्य कर्मचारीको टिमर्वकले यो सफलता मिलेको डा. श्रेष्ठको भनाई छ । डा. श्रेष्ठका अनुसार पछिल्लो दुई महिनामा ३७ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।