हेल्थ टुडे,
काठमाडौ, १८ माघ : प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज, नेपाल (नेसोग) ले किल विश्वविद्यालय जर्मनी तथा सक्सेना मल्टिस्पेसियालिटी हस्पिटल, सिमिस्ट इन्डियाको सयुक्त आयोजनामा काठमाडौंमा ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र युरोगाइनेकोलिजी सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न गरेको छ । एभरेष्ट होटेलमा माघ १३ देखि सुरु भएको कार्यशाला माघ १७ गते सम्पन्न भएको हो ।
कार्यशालाको उद्घाटन नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगाल , किल विश्वविद्यालयका प्रा.लिलो मेटलर र सिमिस्टका प्रा.अखिल सक्सेनाले गरेका थिए । कार्यशालमा ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र युरोगाइनेकोलोजी सम्बन्धी विभिन्न विधामा गरिएका अध्ययन, अनुसन्धान र अनुभवका आधारमा कार्यशालाको अवधिमा प्रसूति गृह थापाथली र काठमाडौं मोडेल हस्पिटलमा ५। ५ जना प्रशिक्षकहरुले दूरबिन प्रविधिका माध्यमबाट शल्यक्रिया गरेका थिए । कार्यशालामा प्रशिक्षकको रुपमा नेपालका अलावा जर्मनी, पाकिस्तान र भारतका विज्ञहरुको सहभागिता थियो ।
कार्यशालामा बिभिन्न बिषयमा ३६ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । वर्तमान अवस्थामा चिकित्सा क्षेत्रमा देखिएका समस्याहरुको गहन छलफलका साथै समस्या समाधानका लागि अपनाउनु पर्ने उपायका बिषयमा पनि कार्यशालामा अनुभव आदानप्रदान गरिएको थियो । कार्यशालामा १० जना प्रशिक्षक र ३५ जना प्रशिक्षार्थी गरि ४५ जनाको सहभागिता रहेको नेसेगका अध्यक्ष डा. दंगालले जानकारी दिए ।