हेल्थ टुडे,
काठमाडौं, २४ चैत : वातावरण र स्वास्थ्यको अन्तरसम्बन्धमा केन्द्रित भएर आज विश्व स्वास्थ्य दिवस मनाइदै छ । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली ’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो । हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वातावरण मन्त्रालयले संयुक्त रुपमा विविद् कार्यक्रमको आयोजना गर्ने भएका छन् । वातावरण र स्वास्थ्यको अन्तरसम्बन्ध भएकै कारण वातावरण सुधार गरि स्वास्थ्य समाज निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यो वर्ष दुबै मन्त्रालयले संयुक्त रुपमा स्वास्थ्य दिवस मनाउन लागिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिए।
विश्व जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावको साक्षी रहेको बताउदै निर्देशक शर्माले वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा दस मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा २ अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाईको अभावमा छन । प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट ८लाख २९ हजारको ज्यान जाने गरेको छ । नेपालमा बर्षेनी बायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्र्तीजन्य रोगका कारण २७ हजारको अकालमै मृत्यु हुने गरेको तथ्यांक छ । नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको मुलुक हो । देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारकहरु हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न कदमहरु चालेको छ । मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरेको छ जुन स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्याङ्कनका आधारमा परिमार्जनको चरणमा छ । यसका अतिरिक्त विभिन्न नीतिहरु जस्तै राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्धाहरुलाई सम्बोधन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सन २०२१ मा ग्लस्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलन ९ऋइएद्दट० मा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्युन कार्बन स्वास्थ्य प्रणालीको बिकास गर्ने प्रतिवद्धता जनाएको छ ।
स्वास्थ्य सेवा संस्थाहरुमा स्वच्छ पानी र सरसफाईमा पहुँच सुनिश्चित गर्न आवश्यक सेवाहरुमा लगानी बढाउन जरुरी रहेको निर्देशक शर्मा बताउछन । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिवद्धता अनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रसायनिक सुरक्षा, सरसफाई जस्ता वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा हासिल गर्न प्रतिवद्ध रहेको दावी गर्दै यो अभियानमा समाजका सबै पक्षको सहकार्य हुनु पर्नेमा शर्माको जोड छ ।