हेल्थ टुडे,
काठमाडौं, २८ जेठ : स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले दुर्गमका नागरिकको स्वास्थ्य अधिकारका लागि पुनः एकपटक सत्याग्रह गर्न तयार रहेको बताएका छन् ।
जनतबाट चुनिएका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र विभिन्न निकायमा रहेका सरकारी अधिकारीले कर्तव्य बिर्संदा दुर्गमका नागरिक स्वास्थ सुविधाबाट वञ्चित हुनु परेको भन्दै उनीहरूको स्वास्थ्य अधिकारका लागि आफू पुनः सत्याग्रहमा बस्न तयार रहेको बताएका हुन् ।
प्रदेश १ का पहाडी र हिमाली जिल्लाका नागरिकको स्वास्थ्य जाँच गर्दै पाँचथरको फिदिम आइपुगेका डाक्टर केसीले पहाडी र हिमाली क्षेत्रका नागरिकमध्ये धेरैले उपचार गराउन नसकेको र उपचार गराउन जाँदा ठगिनु परेको हुँदा आफूले ठाउँ–ठाउँमा सरकारी मेडिकल कलेज स्थापनाको आवाज उठाएको टिप्पणी गरे ।
निजी मेडिकल कलेज सञ्चालकहरूबाट आउने कमिसनको प्रलोभनमा राजनीतिक दलका नेताहरू ग्रामीण स्तरमा मेडिकल कलेज खोल्न सकारात्मक नरहेको उनले बताए ।
तीन दिनदेखि पाँचथर जिल्ला अस्पतालमा हाडजोर्नी र नसासँग सम्बन्धित बिरामीको स्वास्थ्योपचार गरिरहेका केसीले कान्तिपुरसँग कुरा गर्दै डाक्टर केसीले यस्तो बताएका हुन् ।