हेल्थ टुडे,
काठमाडौं, ३० भदौ : चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) आउदो असोज ४ र ५ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् ।
संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । संघले यो वर्ष ‘प्यान्डेमिक प्रिपेडनेस इन नेपाल’ अर्थात नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो । संघका अनुसार सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुनेछ ।
सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने छ । यो पटक ‘सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’, ‘चिकित्सा शिक्षामा चुनौती र अवसर’, ‘संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि’, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर’, ‘खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण,’नेपालमा मेडिकल टुरिजम’ र ‘चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा’ विषयमा छलफल हुने छ ।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए । अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रुपमा पेस गरिने छ । ‘यो सम्मेलनमा विभिन्न विषयहरुमा गहन छलफल हुनेछ,’ उनले भने, ‘छलफलबाट आएका सुझावहरुलाई हामीले स्वास्थ्य मन्त्रालयलाई नीतिहरु बनाउन र अन्य सुधारका लागि दिने छौं ।’