ज्योति थापामगर,
सानासाना बालबालिका बोल्न सक्दैनन् । मनका लागेको कुरा अभिव्यक्त गर्न सक्दैनन् । मलाई यहाँ दुख्यो वा यस्तो भयो व्यक्त गर्न सक्दैनन् । त्यसैले उनीहरूको उपचार गर्नु अझ बढी संवेदनशील हुन्छ । उनीहरूको स्वास्थ्य समस्यालाई महसुस गरेर, अध्ययन गरेर अझ भनौं आफैं आमा जस्तै भएर उनीहरूको केयर गर्नु पर्छ । उपचारका क्रममा सास फेर्न अप्ठेरो भएको छ कि ? वा रुनै सकिरहेको छैन कि वा उनीहरूको दुखाइ महसुस गरेर उपचार गर्नुपर्छ । यसका साथै तापक्रम, दिसापिसाब, मुटुको चालजस्ता कुरा विचार गरेर मात्र उनीहरूको उपचार गर्नुपर्छ । सुरुसुरुमा त बिरामी बच्चा देख्दै डर लाग्दथ्यो । कसरी उसको केयर गर्नु होला भन्ने लाग्दथ्यो । बच्चाको केयर कसरी गर्ने भन्ने छुट्टै तालिम पनि लिएको थिइनँ । साढे तीन वर्षपहिले ईशान बाल तथा महिला हस्पिटलमा काम सुरु गरेपछि गर्दै गए र सिक्दै गए । हुन त मलाई सानैदेखि बच्चा मन पर्दथे । तर उनीहरूसँग मैले लामो संगत गरेको थिएन । नर्सिङ केयर गर्दै गएपछि विस्तारै बानी पर्दै गए । अहिले त उनीहरू नै मेरो नजिकका साथी भएका छन् । महिना नै नपुगी जन्मेका बच्चाहरूको केयर गर्नु अरूभन्दा बढी चुनौती हुन्छ । किनकि उनीहरूमा शारीरिक विकास भएको हुँदैन । मानसिक विकास भएको हुँदैन ।
उनीहरूलाई नर्मल अवस्थामा ल्याउन समयसँगै उत्तिकै केयर चाहिन्छ । एक महिना वा त्योभन्दा पनि बढी समय एनआईसीयूमा राखेर उपचार गरेर स्वच्छ बनाएर घर पठाउँदा खुसीको सीमा नै हुँदैन । यसरी साढे तीन वर्षको अवधिमा हामीले सयौंं हजारौ बच्चाहरूको केयर गरेका छौ । उपचारपछि निको बनाएर घर पठाएका छौ । यो पेसाप्रति म खुसी छु । म अविवाहित हुँ । तर जव म बच्चाको उपचार र केयरमा हुन्छु आफू बच्चाको साँच्चिकै आमा भएको फिलिङमा काम गर्नु गरेकी छु । साथै व्यवहार पनि आमाको जस्तै गर्ने गरेकी छु । हाम्रा सबै नर्सिङ स्टाफहरूले पनि यही व्यवहार गर्ने गरेका छन् । अहिलेका सानासाना बालबालिका नै भोलिका देश हाँक्ने जनशक्ति हुन् । उनीहरूको स्वास्थ्यप्रति हामी सबै जिम्मेवार हुनुपर्छ ।
बच्चाको उपचार असाध्यै संवेदनशिल

Subscribe
Login
0 Comments