• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

July 18th, 2026 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 
पदमराज जोशी, 
नेपालको सामाजिक परिवर्तनको इतिहासमा केही व्यक्तिहरू यस्ता हुन्छन् जसको जीवन कुनै एक पेसा वा पदमा सीमित हुँदैनन् । उनीहरू विचार, संघर्ष र निरन्तर सक्रियतामार्फत समाजको दिशा बदल्ने प्रयास गर्छन् । शान्तलाल मुल्मी त्यस्तै एक प्रेरक व्यक्तित्व हुन् । गान्धीवादी सोच, शिक्षा सुधार, स्वास्थ्य अधिकार र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका एक सामाजिक अभियन्ता ।
८२ वर्षको उमेरमा पनि उनी अझै उत्तिकै सक्रिय छन् । उनको जीवन केवल व्यक्तिगत संघर्षको कथा होइन, यो नेपालमा शिक्षा, स्वास्थ्य र नागरिक अधिकारको विकाससँग गाँसिएको एक दीर्घ सामाजिक यात्राको कहिल्यै नमेटिने दस्तावेज हो ।
शान्तलाल मुल्मीको जीवनको प्रारम्भिक अध्ययन संघर्षबाट सुरु हुन्छ । बाल्यकालमा उनले गरिबी, असुरक्षा र राजनीतिक अस्थिरतालाई नजिकबाट देखे र भोगे । उनको परिवार परिवार राजनीतिक रूपमा सचेत थियो, विशेषगरी उनका बुबा रुद्रलाल मुल्मी विसं २००७ सालको क्रान्तिसँग जोडिएको पृष्ठभूमिबाट आएका थिए । यस कारण घरमा समय–समयमा प्रहरी जाँच, निगरानी र दबाबको वातावरण रहिरहन्थ्यो । यस्तो परिस्थितिले शान्तलालको बाल्यकाल सहज थिएन, तर त्यही कठिनाइले उनको सोचलाई परिपक्व बनायो । सानै उमेरदेखि मुल्मी बोल्न खप्पिस थिए । विसं २०१५ सालमा भएको पहिलो आम निर्वाचनका बेला उनी माइक समातेर नेपाली कांग्रेसको पक्षमा मत माग्दै घरघर पुग्थे र जनतालाई मतदान गर्न अभिप्रेरित गर्दथे ।
संघर्षले सिकाएको जीवनको पाठ :
गरिबी उनको जीवनको अर्को कठोर वास्तविकता थियो । कतिपय समयमा दैनिक जीवन चलाउन पनि कठिन हुने अवस्था थियो उनको परिवारमा । बाल्यकालमा कठिन आर्थिक अवस्थाका बीच जीवन चलाउनुपर्ने अवस्था पनि उनको स्मृतिमा अझै ताजै छ ।
उहाँ सम्झनु हुन्छ, २००७ सालको क्रान्तिताका हाम्रो गरिवीले दिनको छाक टार्न पनि मुस्किल हुन्थ्यो । हरेक साँझ मेरो बुबाले कतैबाट १० रुपैयाँ लिएर आउनु हुन्थ्यो र त्यही पैसाबाट दिनभरिका लागि चामल, दाल तेल र बाल्ने दाउरा किन्नुपर्ने हुन्थ्यो ।
तर यही अभावभित्र पनि उनले पढाइ छोडेनन् । संघर्षको बीचबाटै उनले आफ्नो लक्ष्य निर्माण गरे र शिक्षा नै परिवर्तनको बाटो हो भन्ने विश्वास विकास गरे ।
उनको जीवनको पहिलो ठूलो उपलब्धि थियो, कम उमेरमै एसएलसी पास गर्नु । त्यो समय धेरैका लागि शिक्षा अधुरो रहन्थ्यो, तर मुल्मीका लागि त्यो केवल सुरुवात थियो । एसएलसीपछि उनले त्रिचन्द्र कलेजमा अध्ययन गरे, जहाँ उनको बौद्धिक चेतना विस्तार भयो । कलेज जीवन केवल पुस्तक अध्ययनमा सीमित रहेन; त्यहाँ उनले राजनीतिक बहस, विचारधारात्मक छलफल र समाजबारे गहिरो चिन्तन गर्ने अवसर पाए ।
त्यही वातावरणमा उनले जीवनलाई केवल व्यक्तिगत उन्नतिमा होइन, सामाजिक जिम्मेवारीसँग जोड्न थाले । कलेजका दिनहरूमा उनले शेरबहादुर देउवा, बिपिन कोइराला, नारायणगोपालजस्ता प्रतिभाशाली व्यक्तित्वहरूसँग भेटघाट र संगत गर्ने अवसर पाए ।  ती भेटहरू र संगतमार्फत मुल्मीले आफ्नो सोचलाई अझ फराकिलो बनाएर देखाए । उनी बुझ्दै गए, व्यक्ति होइन, विचार र योगदानले इतिहास बनाउँछ ।
उनको अध्ययन यात्रा अघि बढ्दै गयो । उनले त्रिचन्द्र कलेजबाट  आईएससी अध्ययन गरे । त्रिचन्द्र कलेजमा विसं २०१९ मा विद्यार्थी युनियनको संस्थापक सदस्य थिए मुल्मी ।  उनको चाहना डाक्टर बन्ने भए पनि त्यो भने सम्भव भएन । जीवनले उनलाई अर्को बाटो देखायो, शिक्षण र सामाजिक सेवा । उनले बीएससी र बीएड पूरा गरेपछि शिक्षण पेसामा प्रवेश गरे । यही पेसा उनको जीवनको एक महत्वपूर्ण आधार बन्यो ।
शिक्षालाई जीवनसँग जोड्ने अभियान :
शिक्षकका रूपमा काम गर्दा उनले शिक्षालाई केवल पाठ्यपुस्तक पढाउने काम होइन, जीवन निर्माण गर्ने प्रक्रिया हो भन्ने गहिरो अनुभव गरे । यही अनुभवले उनलाई शिक्षा सुधारतर्फ डो¥यायो । पछि उनी गान्धी आदर्श विद्यालयमा सहप्रधानाध्यापक बने । विद्यालय प्रशासनमा रहेर उनले नयाँ सोच अघि सारे, शिक्षा व्यावहारिक, उत्पादनमुखी र जीवनसँग जोडिएको हुनुपर्छ ।
उनको शिक्षा दर्शन निकै स्पष्ट थियो । उनी विश्वास गर्थे कि विद्यार्थी केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन । विसं २०२१ सालमा वीरगन्जमा भएको प्रअहरूको भेलामा उनले देशमा नयाँ शिक्षाको आवश्यकता रहेको उद्घोष गरेका थिए । त्यसलाई सबैले समर्थन गरेका थिए ।  “एक हातमा किताब र अर्को हातमा कोदालो” भन्ने अवधारणा उनको सोचको प्रतीक बन्यो । यसको अर्थ थियो—शिक्षा र श्रम सँगसँगै जानुपर्छ । यो विचार केवल भाषणमा सीमित रहेन; उनले यसलाई व्यवहारमा लागू गर्न प्रयास गरे । पछि तत्कालीन राजा वीरेन्द्रले उनले भने झै विसं २०२८ सालमा नयाँ शिक्षा नीति प्रयोगमा ल्याए । व्यावसायिक शिक्षाले महत्व पायो । जसमा मुल्मीको अवधारणालाई व्यवहारमा समेटियो ।
विपन्न बालबालिकाका लागि शिक्षा क्रान्ति:
मुल्मीले विपन्न र श्रमिक बालबालिकाका लागि विशेष शिक्षा कार्यक्रमहरू सञ्चालन गरे । इँटा भट्टा, मजदुरी र सडक जीवनमा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने प्रयास गरे । बिहान काम गर्ने बालबालिकालाई दिउँसो वा फुर्सदको समयमा पढाउने प्रणाली विकास गरियो । यसरी शिक्षा प्रणालीलाई उनीहरूले जीवनसँग जोड्ने प्रयास गरे ।
उनको अर्को महत्वपूर्ण योगदान थियो ‘छिटो सिकाइ’ प्रणाली ।  मुल्मीलाई विसं २०३४ मा ग्ऋभ्ए सुविधाविहीन बालबालिकाहरूका लागि शैक्षिक कार्यक्रमको निर्देशक भएर काम गर्ने अवसर दियो । त्यसको लागि उनले सन् १९७९ मा बंगलादेश गएर तालिम पनि लिए । नेपाल फर्केर काम गरेर कमाउने विद्यार्थीलाई तालिम दिने यो कार्यक्रम सफल बनाए ।
उनका अनुसार यदि शिक्षण प्रणाली प्रभावकारी बनाइयो भने विद्यार्थीले छोटो समयमा नै आधारभूत तह पार गर्न सक्छन् । त्यसैले उनले १३० दिनको निरन्तर शिक्षण मोडेल अघि सारे । शनिबार, बिदा र लामो अवकाशका कारण शिक्षा प्रणाली कमजोर भइरहेको बेला उनले निरन्तर कक्षा सञ्चालनको अवधारणा प्रस्तुत गरे । सन् १९८० को दशकतिर उनको शिक्षा कार्यक्रम विस्तार हुँदै गयो । आदर्श कन्या निकेतन, भक्त विद्या आश्रमलगायत विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिए । यी प्रयासहरूले धेरै विपन्न बालबालिकालाई शिक्षा प्राप्त गर्न सहयोग ग¥यो ।  उनले बेलायत सरकारको सहयोगमा सञ्चालनमा रहेको संस्था इहाबm मा एक दशकसम्म नेपालस्थित प्रतिनिधिको रुपमा आफ्नो दायित्व बहन गरे ।
शिक्षा क्षेत्रको कामसँगै मुल्मी सामाजिक संगठन निर्माणतर्फ पनि सक्रिय भए ।  उनले गैरसरकारी संस्था  क्षेत्रलाई सुदृढ बनाउन भूमिका खेले ।   महासंघको गठनमा उनी संस्थापक सदस्यहरूमध्ये एक थिए । उनले संगठनात्मक नेतृत्वमा तीन पटकसम्म महासचिवको जिम्मेवारी सम्हाले । यो अवधिमा उनले नागरिक समाजलाई संस्थागत, संगठित र प्रभावकारी बनाउने प्रयास गरे ।
उनको सोच केवल राष्ट्रिय सीमामा सीमित थिएन । उनले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गरे । अक्सफोर्ड विश्वविद्यालयलगायतका संस्थामा आयोजित कार्यक्रमहरूमा उनले सहभागिता जनाए ।  अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उनले विकास, शिक्षा र स्वास्थ्यका मुद्दाहरूमा नेपालका अनुभव प्रस्तुत गरे ।
स्वास्थ्य अधिकारका लागि निरन्तर आवाज: 
उनको जीवनको अर्को महत्वपूर्ण मोड स्वास्थ्य अधिकार आन्दोलन थियो । उनले स्वास्थ्यलाई केवल सेवा होइन, मानव अधिकारको रूपमा व्याख्या गरे । उनका अनुसार राज्यले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ । यो विचार पछि नेपालको नीतिगत बहसमा महत्वपूर्ण विषय बन्यो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा पनि उनको योगदान उल्लेखनीय छ । मुल्मीले धूमपान र सुर्तीजन्य पदार्थका कारण हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउने काम गरे । उनका अनुसार नसर्ने रोगहरूको मुख्य कारण अस्वस्थ जीवनशैली, जंक फुड, र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हो ।
 स्वास्थ्य कर लागू गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । यसबाट उठेको रकम स्वास्थ्य बिमा प्रणालीमा प्रयोग गर्न सकिन्छ भन्ने उनको विचार थियो । उनको यो विचारलाई तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले मूर्तरूप दिने अभिभारा लिए । फलस्वरूप नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आयो । नेपालमा स्वास्थ्य बिमा प्रणाली कमजोर भइरहेको अवस्थामा उनी नीति सुधारका लागि निरन्तर आवाज उठाइरहेका छन् । जनस्वास्थ्य ऐन बनाउनमा पनि उनको उत्तिकै योगदान छ ।
मुल्मीको अन्तर्राष्ट्रिय अनुभव पनि गहिरो छ । उनले शान्ति प्रक्रिया, मानव अधिकार र विकासका विषयमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा प्रस्तुति दिएका छन् । श्रीलंंकाका पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुंगासँग एउटै मञ्चमा प्रस्तुति दिने अवसर उनका लागि महत्वपूर्ण उपलब्धि थियो । उनले नेपाल शान्ति प्रक्रियाबारे डेनमार्कमा भएको अन्तर्राष्ट्रिय सामाजिक भेला मा समुदायसँग अनुभव साझा गरेका थिए । उनले क्युवाका राष्ट्रपति फिडल क्यास्ट्रोलाई पनि भेट्ने र कुराकानी गर्ने अवसर पाएका थिए । मुल्मी भन्छन्, त्यो पनि मेरा लागि अवस्मिरणीय अवसर थियो ।
आठ दशकपछि पनि समाज सेवामा सक्रिय: 
यतिमात्र होइन नेपालमा सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण कानुन बनाउनका लागि दबाब दिने देशभरिबाट ५०,००० (पचास हजार) भन्दा वढी जनताको दस्तखत संकलन गरी सभामुख स्व. सुवास नेम्बाङलाई बुझाउनु, जनस्वास्थ्य ऐन, नसर्ने रोगका लागि बहुपक्षीय कार्ययोजना र मदिरा ऐन निर्माण गर्न उहाँले खेल्नु भएको भूमिकालाई सबै क्षेत्रबाट सराह्रना गरिएको छ । यतिमात्र होइन उहाँले स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय प्राविधिक समितिको सदस्यको रूपमा खेलेको भूमिका उहाँका लागि महत्वपूर्ण सिकाइ भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न पुरस्कारबाट सम्मानित मुल्मी सबैका लागि प्रेरणको स्रोत हो भन्दा अत्युक्ति नहोला ।
शान्तलाल मुल्मीको जीवन केवल व्यक्तिगत यात्रा होइन, यो स्वास्थ्य अधिकार, शिक्षा सुधार र सामाजिक चेतनाको निरन्तर अभियान हो ।
उनले स्थापना गरेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रले नेपालमा स्वास्थ्यलाई सेवा होइन, नागरिक अधिकारका रूपमा स्थापित गर्ने प्रयासलाई व्यावहारिक रूप दिएको छ । करिब दुई दशकसम्म उनको नेतृत्वमा केन्द्रले विपन्न र ग्रामीण समुदायसम्म स्वास्थ्य पहुँच विस्तार गर्दै आएको छ ।
उनले आफ्ना आमा–बुबा छत्रलक्ष्मी र रुद्रलाल मुल्मीको नाममा स्थापना गरेको स्मृति प्रतिष्ठानले सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गर्ने मात्र होइन, विपन्न बालबालिकाको शिक्षामा पनि निरन्तर सहयोग पु¥याउँदै आएको छ । यसैगरी, उनको अध्यक्षतामा गठन भएको सुर्तीजन्य पदार्थविरुद्धको राष्ट्रिय सञ्जाल आज देशका ५७ जिल्लासम्म फैलिएको प्रभावशाली जनआन्दोलनका रूपमा स्थापित छ ।
व्यक्तिगत जीवनमा मुल्मीको परिवार शिक्षित र स्थापित छ । पत्नी तीर्थमायासहित तीन छोरीमध्ये दुई अस्ट्रेलियामा र एक काठमाडौंमा चिकित्सकका रूपमा कार्यरत छन् । आठ दशक पार गरेको उमेरमा पनि उनी उत्तिकै सक्रिय, ऊर्जाशील र नयाँ कामप्रति उत्साही छन् । धन–सम्पत्तिप्रति कुनै मोह नराख्ने उनको जीवन सरलता र अनुशासनमा बाँधिएको छ । उनको दिनचर्या नियमित व्यायाम, प्राणायाम, सरल भोजन र बौद्धिक संवादमा बित्छ । उनी बारम्बार भन्ने गर्छन्, ‘जिन्दगीलाई घेरामा बाँध्नु हुँदैन, आफ्नै रेखा आफैं कोर्नुपर्छ ।’ यही विचार उनको जीवनको सार बनेको छ— अनुशासनभित्रको स्वतन्त्रता र सेवाभित्रको अर्थपूर्ण अस्तित्व ।
उनको जीवनको विशेषता केवल उपलब्धिहरू होइन, निरन्तर सक्रियता हो । ८२ वर्षको उमेरमा पनि उनी बिहानदेखि रातिसम्म काममा संलग्न रहन्छन् । उनी भन्छन, ‘एक दिन बराबर तीन दिनको काम गर्नुपर्छ ।’ यो भनाइ केवल मेहनतको संकेत होइन, जीवनप्रतिको गहिरो प्रतिबद्धता हो ।
आज पनि उनी स्वास्थ्य अधिकार, सार्वजनिक नीति सुधार र सामाजिक न्यायका मुद्दाहरूमा सक्रिय छन् । उनी विश्वास गर्छन् कि नेपालमा धेरै समस्या नीति नभएर कार्यान्वयनको कमजोरीका कारण छन् । नीति बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई उनले बारम्बार आलोचना गरेका छन् ।
शान्तलाल मुल्मीको जीवनले एउटा महत्वपूर्ण सत्य उजागर गर्छ, परिवर्तन भाषणबाट होइन, निरन्तर कामबाट सम्भव हुन्छ । शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा उनको योगदान केवल व्यक्तिगत उपलब्धि होइन, एक सामाजिक चेतनाको विकास हो ।
उनको जीवन कथा एक यस्तो दीप हो जसले नयाँ पुस्तालाई देखाउँछ, संघर्षलाई स्वीकार गरेर, विचारलाई कर्ममा बदल्दै, समाजलाई अझ न्यायपूर्ण बनाउन सकिन्छ ।  उनको यात्रा अझै जारी छ । उमेरले सीमित नगरेको यो जीवन, अझै पनि समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।
 उनको जीवनले सिकाउँछ, संघर्षबाट भाग्नु होइन, त्यसलाई रूपान्तरण गर्नु पर्छ ।
शिक्षा केवल ज्ञान होइन, जीवन हो ।  स्वास्थ्य अधिकार दान होइन, न्याय हो । विचारमात्र होइन, कर्म पनि आवश्यक छ ।  शान्तलाल मुल्मी आज पनि त्यही यात्रामा छन, थाकेका होइन, अझै जागेका ।  उनको जीवन एउटा वाक्यमा भन्नुपर्दा,  ‘यो एउटा मान्छेको जीवन होइन, यो समाज बदल्ने निरन्तर प्रयास हो ।’
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड
Next article स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web