ताप्लेजुङ
दुर्गम क्षेत्रका सर्वसाधारणको पहुँचमा रहेको र औसधी उपचारको एक मात्र विकल्पको रुपमा रहेको सरकारी अस्पताल त्यो आफै सिकिस्त अवस्थामा छ भने त्यहाँका विरामीको हालत झन् कस्तो होला ? कुरा निकै संवेदनशिल छ तर अस्पतालमा हुनुपर्ने न्युनतम साधनस्रोत पनि नहुँदा र अस्पतालको भौतिक अवस्था समेत तहस नहस हुँदा दुर्गम पहाडी जिल्ला ताप्लेजुङका वासिन्दा आधारभुत स्वास्थ्यसेवा वाट समेत वञ्चित बनिरहेका छन् ।
३२ वर्ष अघि अर्थात् २०३८ सालमा तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दै वनाइएको जिल्ला अस्पताल ताप्लेजुङ अहिले अभाव र अस्तव्यस्ततामा रुमलिइरहेको छ । कमजोर व्यवस्थापनका कारण अस्पतालको आयु जति वढ्दैछ उनी नै अस्पताल पनि निरिह वनिरहेको छ । १५ शैयाको यस अस्पतालमा उपचारका लागि आएका विरामी चिसो भुइमा र अस्पताल वाहिरको खाली प्यासेजमा सुतेर उपचार गराउन वाध्य छन् । फोहोर र दुर्गन्धले अस्पताल उस्तै अस्तव्यस्त छ भने पानी,वत्ती लगायतका न्युनतम सुविधाको समेत अस्पतालमा अभाव नै छ ।
अस्पतालमा रहेका कतिपय शौचालयमा चुकुल नै छैन भने कतिपय शौचालय फोहोरका कारण विरामी वस्न सक्ने अवस्थामा छैनन् । अस्पतालको शौचालय अत्यन्तै फोहोर भएकोले अस्पताल आएका विरामी र विरामीका कुरुवा नजिकै रहेका साथीभाइ र आफन्तको शौचालय प्रयोग गर्न वाध्य छन् । त्यसोत अस्पतालको छानावाट पानी चुहिने भएकोले वेडमा सुतेका विरामीले उल्लो कुना र पल्लो कुना सर्दै रात कटाउनु पर्ने वाध्यता छ । जनशत्ती,उपकरण लगायतका थुप्रै समस्याको जालोमा अल्झिरहेको यस अस्पतालमा भएका उपकरण र संरचनाको उचित संरक्षण नहँदा सेवा र गुणस्तर झन्झन् खच्किदै गइरहेको छ ।
अस्पतालको इमरजेन्सी सेवामा सामान्य सरसफाई भएको देखिए पनि पोपिडी र वार्डहरुमा फोहोरले गर्दा विरामी लिएर वस्नै नसकिने अवस्था रहेको विरामीका आफन्तहरु वताउछन् । अस्पतालका कर्मचारी र प्रशासनको लापरवाहीका कारण अस्पतालका शौचालय र विरामीका कोठाको अवस्था दुर्गन्धित हुने गरेको सेवाग्राहीको आरोप छ । अस्पतालको वरिपरि छरिएको फोहोरको महिनौं दिन सम्म व्यवस्थापन नहुँदा दुर्गन्धले अझ वढि विरामी पार्ने विरामीका कुरुवाहरु वताउछन् । महिना दिन सम्म अस्पताल वसेर निस्किएका नाङखोल्याङका चेतन खतिवडा विरामी कोठाको सरसफाई नगरिने र फोहोरको समस्यावारे कुरा उठाउदा अस्पतालका कर्मचारीले उल्टै विरामीहरुलाई कराउने गरेका कारण आगोले पोलेको छोराको उपचारमा वस्दा आफै अस्पतालवाट विरामी भएर निस्किएको वताउछन् ।
अस्पतालमा अत्यावश्यक साधनस्रोतको समेत अभाव भएकोले अस्पतालले पछिल्ला दिनमा आएर उपचार भन्दा पनि रेफर सेन्टरको रुपमा काम गरिरहेको छ । अस्पतालमा अन्य उपकरण र साधन स्रोतको त कुरै छोडौं लडेर र हात खुट्टा काटेर आएका सामान्य विरामीको एक्सरे गर्ने मिसिन समेत अस्पतालमा छैन । मेसिन विग्रिएको आठ महिना वितिसक्दा पनि अस्पतालले यसको व्यवस्थापन गर्न सकेको छैन । पहाडी जिल्ला भएकोले लडेका काटेका धेरै विरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेपनि उनीहरुलाई अस्पतालले सेवा दिन नसकि वाहिर रेफर गर्ने गरेको छ ।
त्यस्तै गरेर मुटुका रोगीहरुको उपचारमा आवश्यक पर्ने इसिजी मेसिन विग्रिएको पनि वर्ष दिन हुन लाग्यो यसको पनि हाल सम्म मर्मत संभार गर्ने कि नयाँ खरिद गर्ने टुङगो लागेको छैन । डेढ वर्ष अघि ताप्लेजुङमा शल्यक्रियावाट प्रसुती गराउन थालिएको थियो तर त्यसलाई पनि अस्पतालले निरन्तरता नदिदा यो सेवा लिनवाट पनि ताप्लेजुङका महिलाहरु वञ्चित वनिरहेका छन् । सुत्केरी हुन आएका महिलाको नर्मल तरिकाले वच्चा जन्मिने सम्भावना नदेखिएमा त्यस्ता महिलालाई पनि अस्पलालले रेफर गर्ने गरेको छ । अस्पतालमा सेवा उपलव्ध नहुँदा एक्सरे गर्नु पर्ने विरामी,मुटुका रोगी र अन्य गम्भिर विरामीहरु मात्र नभइ प्रसव पिडामा छट्पाटाई रहेका गर्भवती महिलाहरुलाई समेत अस्पतालले रेफर गरी वाहिर पठाउने गरेको छ । जसकारण चर्को मुल्य तिरेर धरान,विराटनगर जस्ता सुविधा सम्पन्न अस्पताल धाउन ताप्लेजुङवासी वाध्य वनिरहेका छन् ।
यस सम्वन्धमा जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डाक्टर सुर्य वहादुर गुरुङ माथिल्लो निकायमा यहाँको समस्या वारे पटक पटक अवगत गराउदा पनि समस्याको सुनुवाई नभएकोले आफुले केही गर्न नसकेको वताउछन् । अस्पतालको वर्तमान अवस्थालाई सुधार्न सरकार,अस्पताल व्यवस्थापन र अन्य सरोकारवाला सँग आफुले पहल गरेपनि कतैवाट पर्याप्त सहयोग नपाउदा झन् विग्रिदै गइरहेको उनको भनाई छ । अस्पतालको अवस्था सुधार गर्नका लागि पटक पटक मन्त्रालय,विभाग र राजनितिक दलका नेताहरुलाई आफुले घच्घच्याउने गरे पनि दुर्गम जिल्लाका जनताको स्वास्थ्य सँग जोडिएको संवेदनशिल संस्था जिल्ला अस्पतालको सुधारमा अहिले सम्म कसैले चासो नदेखाउदा वरु आफै सरुवा मिलाएर वाहिर जाने मनस्थितीमा पुगिसकेको पनि उनी वताउछन् ।
Leave a Reply