हेल्थ टुडे
धादिङ ः जिआईजेडले महादेबबेसी सहित धादिङका ९ वटा नव निर्मित प्रिफ्याब्रिकेटेड स्वास्थ्य चौकी स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका ९ वटा स्वास्थ्यचौकीको निर्माण कार्य जिआईजेडले गरिदिएको हो ।
महादेबबेसीमा बुधबार आयोजना गरिएको विशेष कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवहाक राजदुत एवं विकास सहयोग प्रमुख श्रीमती ज्याकलिन ग्रोथले स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठलाई ती नव निर्मित स्वास्थ्य चौकी भवनको साचो हस्तान्तरण गरेकी हुन । महादेवबेसीमा आयोजना गरिएको कार्यक्रममा कार्यवहाक राजदुत ग्रोथ र प्रवक्ता श्रेष्ठले संयुक्त रुपमा महादेवबेसी स्वास्थ्य चौकीको उद्घाटन समेत गरेका छन् । साचो हस्तान्तरण गरिएका स्वास्थ्यचौकीमा महादेवबेसी सहित जोगीमारा, नौविसे, जिवनपुर, खाल्टे, किरान्चोक, सुनौलाबजार, सल्यानकोट र मुलपानी छन् ।
धादिङमा भूकम्पले एक हजार दुईसय १७ जना घाइते भएका थिए भने ६ सय ८० को ज्यान गएको थियो । समग्रमा ४६ स्वास्थ्य संस्थाहरु र ४३ सुत्केरी केन्द्रहरु पूर्ण र आंसिक रुपमा क्षतिग्रस्त भएका थिए । महादेवबेसीमा मात्र करिब ९० प्रतिशत घर भत्किएका थिए भने ९९ प्रतिशत बासिन्दालाई स्वास्थ्य सेवाको खाँचो थियोे । जिआईजेडले स्वास्थ्य मन्त्रालयसंगको साझेदारीमा धादिङ र नुवाकोटमा ३७ वटा स्वास्थ्य चौकीहरुको पूननिर्माणमा सहयोग गर्दैछ ।
Leave a Reply