समिद कतिला श्रेष्ठ, नेपाल फिजियोथेरापी एसोसिएसनका महासचिव हुन । एसोसिएसनको हालै भएको अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको हो । नेपालमा फिजियो थेरापीका नाममा गलत अभ्यास भइरहेकोले त्यसलाई रोकेर फिजियो थेरापी उपचारलाई विश्वसनिय र गुणस्तरीय बनाउन आवश्यक रहेको उनको ठम्याई छ । नेपालमा फिजियोथेरापीको अवस्था र एसोसिएसनका गतिविधिमा केन्द्रित रहेर हेल्थ टुडेका संवाददाता नमराज भट्टले कतिलासँग गरेको छोटो कुराकानी :
फिजियोथेरापी भनेको के हो ?
फिजियोथेरापी भनेको विभिन्न चिकित्सामध्येको एक वैज्ञानिक चिकित्सा पद्धति हो । जसमा विभिन्न किसिमका रोगहरूलाई औषधिको सेवन नगरिकन व्यायाम, सुझाव, सल्लाह, फिजियोसम्बन्धी हातले गर्ने उपचारजस्ता विभिन्न किसिमको उपचार गरिन्छ । सर्वसाधारणले बुझ्ने भाषामा मांसपेशी र हाडजोर्नी तथा नसाका कारणले हुने दुखाइ र चलाइको समस्यालाई बुझ्नुपर्छ ।
फिजियोथेरापीले कुनकुन र कस्ताकस्ता रोगको उपचार गर्न सकिन्छ ?
फिजियोथेरापीले हाडजोर्नी तथा नसासम्बन्धी रोग, प्रसूतिसम्बन्धी, बालबच्चासम्बन्धी, सामुदायिक फिटनेस, खेलकुद आदि पर्दछन् । हाडजोर्नीअन्तर्गत घुँडा खिएको, गर्धन दुख्ने, ढाड दुख्ने, हातखुट्टा मर्किनु, प्लास्टर गरिसकेपछि गरिने उपचार पर्दछन् । यस्तै नसासम्बन्धीमा प्यारालाइसिस, मुख बांगिने, हातखुट्टा पोल्ने, झमझमाउनेलगायत नसा च्यापिएको, नसा चँुडिएको, टाउकोको चोटपटकबाट भएको समस्या त्यस्तै प्रसूतिमा महिलामा बच्चा जन्मिनुभन्दा अगाडि र पछाडि अनि आङ खसेका महिलाका उपचार हुन् । बालकहरूमा जन्मजात हुने अपांगताहरू र विकासमा हुने ढिलाइ हुन् ।
यो उपचार विधि कत्तिको वैज्ञानिक र विश्वसनीय छ ?
यो उपचार वैज्ञानिक पद्धति हो । यसलाई खोजमूलक र अनुसन्धान उपचार पद्धति मानिन्छ । संसारभरि यसको उपचार पद्धति एउटै किसिमको हुन्छ । यो रोगलाई आफ्नै ढंगले भन्दा पनि वैज्ञानिक ढंगमा लामो समयदेखि अनुसन्धान गरी पत्ता लगाएर उपचार गरिन्छ ।
राजधानीका चोकचोकमा खुलेका फिजियोथेरापी सेन्टरमा कार्यरत जनशक्ति सबै तालिम प्राप्त र योग्य छैनन् भन्ने सुनिन्छ नि ?
अहिले आएर फिजियोथेरापीको नाममा धेरै गलत अभ्यास भएको पाइएको छ । फिजियोथेरापी भनी तालिम लिएका व्यक्तिहरूले कुनै अध्ययन नगरे पनि क्लिनिक चलाएको पाइएको छ । मेसिनहरूले सेक्दै यही फिजियोथेरापी हो भनी मानिसमा भ्रम पारेको पनि पाइन्छ । वास्तवमा फिजियोथेरापी भनेको नेपालमा मास्टर गरेको, स्नातकोत्तर र स्नातक गरेका फिजियो थेरापिस्टहरूबाट मात्र उपचार हुनुपर्छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नभएका कसैले फिजियोथेरापीको काम गर्न पाउँदैन ।
नेपालमा फिजियोथेरापी र फिजियो थेरापिस्टहरूको अवस्था के छ ?
भूकम्प पहिलेको भन्दा अहिले फिजियोथेरापीको जनचेतना र आवश्यकता निकै नै बढेको छ । हरेक अस्पतालमा फिजियोथेरापीको उपचार लिन सकिन्छ । धेरै मानिसहरू यो उपचारबाट लाभान्वित भएका छन् । यद्यपि फिजियोथेरापीको महत्व बढ्दाबढ्दै पनि फिजियोथेरापिस्टहरू पनि निजी क्षेत्रमा न्यूनतम पारिश्रमिकमा पनि काम गरेको अवस्था देख्न सकिन्छ । जसले गर्दा उनीहरू बिदेसिन पनि बाध्य छन् । सरकारी तहबाट राज्यले फिजियोथेरापिस्टहरूका समस्याहरूलाई सम्बोधन गर्न सके फिजियोेथेरापी जस्ता राज्यका गहनालाई स्वदेशमै राख्ने वातावरण बनाउन सकिन्थ्यो ।
यो उपचार विधि कत्तिको महँगो छ त ?
यो उपचार विधि सरकारीदेखि निजी क्षेत्रमा एक सयदेखि एक हजारभन्दा माथिसम्म पर्छ । एक पटक गर्दा खासै पैसा नलाग्ने भए पनि यो उपचार नियमित गनुर््पर्ने हुनाले समग्रमा महँगै पर्छ । यसमध्ये सरकारीमा हेर्ने हो भने स्वास्थ्य बिमाले गर्दा निःशुल्क छ । त्यसैले सरकारीमा सस्तो छ । निजी क्षेत्रको मूल्य हेर्ने हो भने यसमा एकरूपता भएको पाइँदैन
फिजियोथेरापिस्ट एसोसियसनको बारेमा बताइदिनुस् न ?
नेपाल फिजियोेथेरापिस्ट संघ देशभर रहेका फिजियोथेरापिस्टहरूको एक मात्र दाता संगठन हो । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । यसका चारवटा शाखा कार्यालयहरू रहेका छन् । जुन विराटनगर, पोखरा, चितवन र बुटवलमा छन् । यसमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, एक महासचिव, दुई कोषाध्यक्ष र आठजना कार्यकारी सदस्य रहेका छन् । हरेक दुई वर्षको अवधिमा केन्द्रीय कायसमिति चुनावी प्रक्रियाबाट चयन गरिन्छ ।
एसोसियसनका भावी योजनाहरू के के छन् ?
एसोसियसनका भावी योजना आफ्नै काउन्सिल बनाउने फिजियोथेरापिस्टहरूको न्यूनतम पारिश्रमिक तोक्ने, अनुगमन कडा र फिजियोथेरापीको स्तरवृद्धि गर्नको लागि समय–समयमा कार्यक्रम गरी तथा सर्वसाधारणका लागि पनि विभिन्न स्वास्थ्य शिविर चलाउने लगायतका योजनाहरू रहेका छन् ।
( कतिला, नेपाल फिजियोथेरापी एसोसिएसनका महासचिव हुन । उनी भक्तपुर अस्पताल, वीपी नेत्र प्रतिष्ठान र बानेश्वर स्पामा कार्यरत् छन् । )
Leave a Reply