हेल्थ टुडे,
काठमाडौ,२९ बैशाखः श्रममन्त्री गोकर्ण विष्टले उचित पारिश्रमिक नदिएर नर्सहरुको श्रमशोषण गर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् । मन्त्री विष्टले डेढ महिना भित्र नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने गरी डेढ महिना भित्र श्रम अडिट कार्यान्वयनमा ल्याइने बताएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले कानुनमा व्यबस्था भए बमोजिम सम्पूर्ण अस्पताल वा क्लिनिकमा कार्यरत नर्सहरुले न्यूनतम पारिश्रमिक पाएको वा नपाएको निरीक्षण गरी न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन आनाकानी गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाही गर्ने चेतावनी दिए ।
श्रमिकहरुलाई कम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने तर बढी पारिश्रमिक लिएको कागजातमा हस्ताक्षर गर्न लगाउने प्रवृत्ति रहेको भन्दै मन्त्री विष्टले यस्तो समस्या हुन नदिन रोजगार दाताहरुले सम्पूर्ण श्रमिकहरुको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यबस्था अनिवार्य गर्ने जानकारी दिए ।
Leave a Reply