हेल्थ टुडे,
मार्तडी,२०बैशाखः बाजुरा जिल्लाको उत्तरी भेगमा केही दिनदेखि फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ । हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको बुधबार मृत्यु भएको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिएकी छन् । सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको पनि सोमबार मृत्यु भएको उनले बताइन् ।
रुघाखोकी, ज्वरोको प्रकोप फैलिएको स्थानीयले जनाएका छन् । स्थानीय बासिन्दाका अनुसार गाउँमा ज्वरोका कारण नदापाटा र क्युडीका अधिकांश बिरामी परेका छन् । टाउको दुख्ने, ज्वरो आएर बिरामी थला पर्ने र नाक, मुखबाट रगत आउनेजस्ता लक्षण देखा परेको छ ।
मृत्यु भएको खबर पाएपछि रुगिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर फडेराको नेतृत्वमा बिहीबार स्वास्थ्यकर्मीको टोली क्युडी गएको अनमी मल्ल जानकारी दिइन् । सदरमुकाम मार्तडीबाट करिब ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो छ । स्वास्थ्य चौकीमा उपचारका क्रममा दुई महिलाको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
केही सातायता छिमेकी जिल्ला हुम्लाको ताजाकोट गाउँपलिकामा महामारीका कारण आठ जनाको मृत्यु भएको थियो । छिमेकी जिल्लाकै जस्तो महामारी फैलिएको हो कि भनेर स्थानीय त्रसित छन् । हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्मदत्त बुढाले छिमेकी जिल्लामा अज्ञात रोग देखिएकाले गाउँपालिकावासीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Leave a Reply