हेल्थ टुडे,
भक्तपुर,२ जेठः भक्तपुरमा पनि मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पतालमा बुधबार मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री दुलालले जनताको गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले कुनै कञ्जुस्याइ नगर्ने बताए। यसका लागि पर्याप्त बजेट व्यवस्था गर्ने र आगामी वर्षहरूमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी अस्पतालमा राम्रो उपचार हुन सके निजी अस्पताल तथा नर्सिङ होमहरू घट्ने धारणा राखे । भक्तपुर नगरपालिकाले घर–घरमा नर्सिङ सेवा सुरु गरेको जानकारी दिंदै प्रमुख प्रजापतिले नगरपालिकाभित्रका ३ वटा जनस्वास्थ्य केन्द्रमार्फत् जनताको सेवा गरिरहेको र यसै वर्षदेखि भक्तपुरमै आँखाको शल्यक्रिय पनि सुरु गरिसकेको जनाए। उनले ख्वप अस्पतालको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको जानकारी पनि गराए।
Leave a Reply