हेल्थ टुडे,
काठमाडौ,जेठः उच्च रक्तचापका कारण मानिसमा हृदयाघात, मष्तिष्कघात र मुटुका अन्य रोग लाग्छ । विश्वमा प्रतिवर्ष करिब एक करोड व्यक्तिले उच्च रक्तचापका कारण ज्यान गुमाउँछन् । नेपालमा प्रतिवर्ष उच्च रक्तचापको कारण ३३ हजारभन्दा बढीले अकालमा ज्यान गुमाइरहेका छन् । यो रोग लाग्नेको जीवन सजिलै बचाउन सकिने भए पनि आधाभन्दा बढीलाई रोग भएको जानकारीसमेत हुँदैन । त्यसैले अन्तर्राष्ट्रिय उच्च रक्तचाप समाजले सन् २०१७ देखि मे महिनालाई उच्च रक्तचापसम्बन्धी जनचेतना जगाउने महिनाका रूपमा अभियान चलाएको छ ।
यस अभियानमा विश्वभरिबाट सन् २०१७ मा करिब १२ लाख, सन् २०१८ मा करिब १५ लाख जनाको रक्तचाप नाप्ने, उनीहरूलाई स्वास्थ जीवनशैलीबारे जानकारी दिने र उच्च रक्तचाप देखिएका बिरामीलाई स्वास्थ्य संस्थामा पठाउने कार्य भएको थियो । नेपालको आधाभन्दा बढी जनसङ्ख्यालाई अझै पनि आफ्नो रक्तचापको स्थितिबारे जानकारी छैन । नेपालमा उच्च रक्तचापका बिरामीमध्ये करिब १५ प्रतिशत बिरामीको मात्र रक्तचाप नियन्त्रणमा छ । सन् २०१६ मा नेपालमा गरिएको ‘राष्ट्रिय जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण’ अनुसार १७ प्रतिशत महिला तथा २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप भेटिएको थियो ।
सन् २०१८ मा मे महिनामा रक्तचाप नापौँ अभियान नेपालले गरेको सर्वेक्षणमा २२ हजारको रक्तचाप नाप्दा करिब ३१ प्रतिशतलाई उच्च रक्तचाप देखिएको थियो । हालसालै स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार दुईतिहाइ मान्छे नसर्ने रोग तथा र १६ प्रतिशतभन्दा बढीको मुटुसँग सम्बधित रोगका कारण मृत्यु हुने गरेको छ । बढ्दो सहरीकरणसँगै खानपानको परिवर्तन, वातावरणीय प्रदुषण, अस्वस्थकर जीवनशैली, धूमपान, मद्यपान, नुन धेरै खाने, मोटोपना, शारीरिक व्यायामको कमी आदि कारण उच्च रक्तचापले नेपाली समाजलाई ग्रसित बनाउँदै छ । नेपालमा जान्नेबुझ्नेले पनि रक्तचाप भएको थाहा पाएर पनि जिन्दगीभर औषधि खानुपर्छ भन्ने सोचका कारण नियमित जाँच नगरी बस्ने गरेको पाइएको छ ।
चुरोट पिउँदा बेफाइदा मात्र छ तर एक पटक नसोचीकन जिन्दगीभर पिउन मानिस तयार छ । उच्च रक्तचापको औषधि जसको उद्देश्य रक्तचाप नियन्त्रणमा राख्ने र यसबाट हुनसक्ने सम्भावित जटिलताबाट बचाउने हो, त्यसप्रति भने ऊ संवेदनशील छैन । यस अभियानअन्तर्गत नेपालमा सन् २०१७ मा करिब छ हजार जनाको रक्तचाप नापिएको थियो । सन् २०१८ को मे महिनामा तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको रक्तचाप नापेर कार्यक्रम सुरु गरिएको थियो । यो कार्यक्रम देशव्यापी रूपमा सञ्चालन हुन्छ । रक्तचापबारे जनचेतना जगाउने अभियानमा वरिष्ठ चिकित्सक डा. मृगेन्द्रराज पाण्डे, डा. भगवान कोइराला, डा.अर्जुन कार्की र डा. प्रकाशराज रेग्मी सामाजिक सञ्जालमा जोडिनुभएको थियो । विगतमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट स्वास्थ्य शिक्षा तथा सूचना प्रवाह गरिएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ ।
सन् २०१८ मा देशभरि पाँच सय जना स्वयंसेवक विभिन्न ठाउँमा निःशुल्क रक्तचाप नाप्न र स्वास्थ्य शिक्षा प्रदान गर्न परिचालन गरिएको थियो । यस अभियानले मानिसमा बेलाबेला रक्तचाप नाप्नुपर्छ र उच्च रक्तचाप भएमा चिकित्सकको सल्लाहबमोजिम उपचार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । धूमपान, मद्यपान, नुन धेरै खाने, मोटोपना, शारीरिक व्यायामको कमी, सागसब्जी र फलफूल थोरै खाने बानी परिवर्तन गरी स्वस्थ्य जीवनशैली अपनाउन मानिसलाई सुझाव दिइन्छ । सन् २०१७ र २०१८ मा कार्यक्रमले सानो प्रयासबाट पनि ठूलो सन्देश दिन सकिन्छ भन्ने राम्रो नतिजा देखिएको थियो ।
सन् २०१९ को मे महिनालाई पनि रक्तचाप नाप्ने महिनाका रूपमा मनाइँदै छ । चिकित्सा, जनस्वास्थ्य र नर्सिङ अध्ययनरत विद्यार्थी तथा पेसाकर्मीहरूलाई आवश्यक तालिम र सामग्री प्रदान गरेर विभिन्न स्थानमा रक्तचापसम्बन्धी कार्यक्रम गरिएको छ । अघिल्ला वर्षमा झैँ एक हजारभन्दा बढी स्वयंसेवकले कलेज, अस्पताल, सपिङ मल, चौतारी तथा सरकारी कार्यालयमा बसेर यो सेवा निःशुल्क प्रदान गरिँदै छ ।
यो वर्ष मापन महिनाअन्तर्गत वैशाख २९ र ३० गते सङ्घीय संसद्मा सांसदहरूको रक्तचाप मापन गरिएको थियो । जनप्रतिनिधिमार्फत सर्वसाधारणलाई उच्च रक्तचापबारे सचेत र सजग गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा चार सय जनाको रक्तचाप मापन गरिएको थियो । यसैगरी उहाँहरूको जीवनशैली, खानपान र उच्च रक्तचापसँग सम्बन्धित सन्देश पनि लिएर विभिन्न माध्यमबाट जनसमुदायमा पु¥याउने काम भइरहेको छ । (रक्तचाप नापौँ अभियानका अभियन्ता हरिकृष्ण भट्टराई र डा.दिनेश न्यौपाने )
Leave a Reply