प्रा.डा.गणेश दंगाल ,
स्तनको क्यान्सर हरेक ८ महिला मध्ये १ जनामा पाईएको छ । महिलाहरुमा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्यूहरु मध्ये २० % मृत्यु यसैले गराउंछ । क्यान्सरजन्य मृत्यु गराउनेमा फोक्सोको क्यान्सरपछि स्तन क्यान्सर दोश्रोमा आउंछ । स्तन क्यान्सर मुख्यतः महिलामा हुन्छ । यो रोग अमेरिका, युरोप तथा ल्याटिन अमेरिकामा भन्दा एशिया तथा अफ्रिकामा कम मात्रामा देखा परेको छ । नेपालमा पनि ठूला अस्पतालहरुमा स्तन क्यान्सरका बिरामीहरु बढीरहेको तथ्याड्ले देखाउंछ । प्राय बिरामीहरु ढिलो गरि आउने भएकोले रोगको पहिचान हुंदा रोग फैलिइसकेको हुन्छ । शुरुको अवस्थामा पत्ता लागेमा छिट्टै उचित उपचार गराएमा यो रोग निको हुन सक्छ भने फैलिइसकेको अवस्थामा उपचारपछि पनि रोग पूर्णरुपले निको हुंदैन । स्तनमा कुनै गंठागुंठी आएमा तुरुन्त चिकित्सकको सल्लाहमा समयमै रोग पत्ता लगाई उपचार गराउन सकिन्छ । ढिलो गरेमा उपचार असफल भई ज्यानै समेत जान सक्छ ।
स्तन क्यान्सर प्रायसः उमेर ढल्किसकेका प्रौढ महिला, अनुवांशिक खरावी भएका, सन्तान नपाएका, ढिलो सन्तान जन्माउने (३५ वर्षपछि) कम उमेरमै महिनावारी शुरु भएका (१२ वर्ष अघि) तथा ढिलो महिनावारी सुकेका (५५ वर्षपछि), ज्यादै मोटी, इस्द्रोजन सेवन गर्ने, अत्यधिक मद्यपान तथा धुम्रपान गर्ने, गोरा महिला आदिमा बढी पाइएको छ । पच्चीस वर्षभन्दा कम उमेरका महिलामा यो क्यान्सर विरलैमात्र पाइएको छ । तर कसै कसैमा पारिवारिक अनुवाँशिक कारणले गर्दा कम उमेरमै पनि यो रोग लाग्न सक्छ । ८०% भन्दा बढि स्तन क्यान्सर ५० वर्ष माथिका महिलामा पाइएको छ । एउटा स्तनमा क्यान्सर भएमा अर्कोमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसै गरी स्तन क्यान्सरको उत्पति एउटै स्तनको एकै ठाउंमँ वा विभिन्न ठाउंहरुमा वा दुवै स्तनमा एकैचोटी पनि हुन सक्छ ।
अनुवंशिक खरावीका कारण यो रोग परिवारमा दिदी बहिनीमा तथा सानै उमेरमा एक पिंढी पछि अर्को पिंढीमा देखा पर्ने गर्दछ । यस्ता स्तन क्यान्सरको खतरा रहेका महिलामा डिम्वाशयको क्यान्सर पनि बढी मात्रामा पाइएको छ । स्तन क्यान्सर अन्यत्र फैलंदा प्रायः हड्डीहरुमा, फोक्सोमा, कलेजोमा, डिम्वाशयमा र स्नायु प्रणाली (दिमाग) मा पुग्दछ । यो रोगका लक्षणहरुमा स्तनमा गंठागुंठी देखा पर्नु, स्तनको आकारमा परिवर्तन हुनु, स्तनको मुन्टावाट तरल पदार्थ आउनु, स्तनको छालामा घाउ हुन आदि हुन् । स्तनमा दुखाई भने प्रायः हुंदैन ।
स्तन क्यान्सरको पहिचान वा निदानका विधिहरु निम्नानुसार छन् :
स्तनको परिक्षणः आफैले वा डाक्टरले हातको पञ्जाले छामेर स्तनमा गाँठागुँठी भए नभएको पत्ता लगाउन सकिन्छ ।
म्यामोग्राफी: यो विशेष एक्सरे विधिले स(साना स्तन क्यान्सरहरु समयमै पत्ता लगाउन सकिन्छ । तर करिब २०% जति हातले छाम्दा भेटिने स्तन ट्युमरलाई यो विधिवाट पत्ता लगाउन सकिंदैन । यसले स्तनमा भएका शंकास्पद ठाउँहरु प्हिचान गर्दछ र त्यस्ता ठाउंबाट साइटोलोजी तथा बायोप्सी जाँच गर्न सकिन्छ ।
फाइन निडल एस्पिरेसन साइटोलोजी: गिर्खा निस्केको शंकास्पद ठाउबाट यो विधिद्धारा नमूना लिएर जाँच गरेमा ९८% सक्षमताका साथ सहि परिणाम आउँछ । यो विधिद्धारा जाँच गर्दा क्यान्सर भएका कोषहरु देखिएनन् भने क्यान्सर हुने सम्भावना न्युन हुन्छ । तर जाचको नतिजा पोजेटिभ वा शंकास्पद भन्ने आएमा भने बायोप्सीद्धारा नै किटान गर्नुपर्दछ ।
बायोप्सी जांचः स्तनको शंकास्पद गाँठोबाट मासुको टुक्रा झिकि परिक्षण गर्दा रोगको किटानीका साथ पहिचान हुन्छ । यो विधि क्यान्सर पहिचानको लागि ज्यादै भरपर्दो र उपयोगी छ ।
यस रोगबाट बच्ने निम्नलिखित विभिन्न उपायहरु छन् :
मद्यपान तथा धुम्रपान नगर्ने, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी खाने वानी बसाल्ने, खानामा बोसोको मात्रा कम गर्ने, रेशादार खाना खाने, सधैं शारीरिक रुपमा तन्दुरुस्त रहने तथा मोटोपन घटाउने, इस्द्रोजन हार्मोन ज्यादा सेवन नगर्ने तथा किटनाशकहरु ज्यादा प्रयोग नगर्ने । पच्चीस वर्ष उमेर नाघेका महिलाहरुले समय समयमा आफैले आफ्नो स्तन छामेर गंँठागुंठी भए नभएको जांच गर्ने साथै सवै चिकित्सकले उपचार क्रममा महिलाहरुको हकमा स्तनको गांठा गुंठीको वारेमा सोधपुछ तथा परिक्षण गर्ने । स्तन क्यान्सरको पारिवारीक अनुवांशिक इतिहास भएकाहरुले नियमित म्यामोग्राफी गराउने तथा उच्च सतर्कता अपनाई चिकित्सकको सामयिक निगरानीमा रहने ।स्तन क्यान्सरको वारेमा चेतनामूलक जानकारीहरु सवैलाई उपलव्ध गराउने ।
उपचारका विधिहरु :
यो क्यान्सर लागिसकेपछि अपनाउने विधिहरुमा शल्यचिकित्सा (अपरेशन), विकिरण पद्धति (रेडियशन थेरापी) हर्मोनल थेरापी, केमोथेरापी आदि पर्दछन् । रेडियसन थेरापी प्रायसः शल्यक्रिया गरिसकेपछि सहयोगी विधिको रुपमा प्रयोग गरिन्छ । स्तन क्यान्सर अन्य ठाउमा फैलिएको अवस्थामा भने सामान्यतया केमोथेरापीको प्रयोग गरिन्छ । अन्तमा स्तन क्यान्सर भयानक रोग भएपनि शुरुकै अवस्थामा पत्ता लगाएमा उपचारपछि निको पार्न सकिन्छ । साथै रोकथामका विभिन्न उपायहरु अपनाएर यो रोग लाग्नबाट बच्न सकिन्छ ।
(लेखक : काठमाण्डू मोडेल अस्पतालमा स्त्री रोग तथा प्रसुती विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)
Leave a Reply