हेल्थ टुडे,
बैतडी, ९ जेठ : बैतडीमा पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडि जिल्ला बैतडीमा कोरोना देखिएपछि त्यहाँका स्थानिय निकाय र जिल्ला स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाएको जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा थुनामा रहेका २२ बर्षिय पुरुषमा शुक्रबार संक्रमण भएको पुष्टि भएपछि स्थानियवासीमा त्रास सिर्जना भएको छ । बैतडीको सिमा नाका झुलाघाटबाट पछिल्ला दिनमा कामका लागि भारत गएका सयौं स्थानिय धमाधम भित्रिरहेका छन् । विना परीक्षण उनीहरुलाई भित्र्याउदा कोरोनाका संक्रमण बढ्ने खतरा रहेको भन्दै स्थानियवासी त्रसित बनेका हुन ।
संक्रमण देखिएका शिवनाथ गाउँपालिका १ का ती युवकमा गत चैत ६ गते भारतबाट फर्किएका थिए । उनलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा पक्राउ गरेको थियो । थुनामा रहेको व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अहिले जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनलाई उपचारका लागि बैतडी जिल्ला अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ र स्वाव संकलनको तयारी भइरहेको भट्टले बताए ।
दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्र थापाले संक्रमित देखिएपछि थप सतर्कता आवश्यक देखिएकोले त्यही अनुसार तयारी अगाडि बढाइएको बताए । पाटन नगरपाकिलाका मेयर केशव चन्दले सुदूरपश्चिमका बैतडी, डोटी र कैलालीमा परीक्षण गर्ने ल्याव बनाउने बताएपनि सरकारले धनगढी बाहेकका ठाउँमा कोरोना परीक्षण गर्ने ल्याव नबनाउनु दुखद भएको बताउदै चाडै ल्याव स्थापना हुनु पर्नेमा जोड दिए । उनले स्थानिय तहले कोरोना संक्रमण रोक्न सक्दो प्रयास गरिरहेको र बैतडीमा पहिलो संक्रमित देखिएपछि उच्च सतर्कता अपनाएको बताए ।
बैतडीमा पहिलो पटक एकजनामा कोरोना पुष्टि भएपछि उच्च सतर्कता, थुनुवा कक्षमै कोरोना देखिएपछि प्रहरी कार्यालय सिल

Subscribe
Login
0 Comments