हेल्थ टुडे,
काठमाडौं, २१ असार : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यही असार २२ र २३ गते आयोजना हुने छैटौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलनमा ८६ वटा अनुसन्धानमूलक प्रस्तुतिकरण हुने भएको छ । ‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरुको सम्बोधन ’ भन्ने मूल नाराका साथ हुन लागेको भर्चुअल सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार २२ गते उद्घाटन गर्ने छन ।
दुई दिनसम्म चल्ने सम्मेलनमा स्वदेश र बिदेशका स्वास्थ्य तथा जनसंख्या विज्ञहरुमध्ये छानिएका ८६ वटा प्रस्तुतिकरण समावेश गरिएको छ । ती मध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटा पोस्टर प्रस्तुतिकरण हुने परिषद्ले जनाएको छ । सम्मेलनमा कोरोना भाइरस सम्बन्धी प्रत्यक्ष रुपमा ८ वटा प्रस्तुतिकरण गरिने परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघराज धिमालले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरण रहने र त्यसका बारेमा गहन छलफल हुने बताए । भर्चुअल रुपमा आयोजना हुने सम्मेलनमा अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फिलिपिन्स, बेल्जियम, थाइल्याण्ड, जर्मनी लगायतका देशका बिज्ञहरु समेत सहभागी हुने डा. ज्ञवालीले जानकारी दिए । सम्मेलनमा प्रस्तुत भएका प्रस्तुतिकरणहरुमध्येबाट एक एक जनालाई उत्कृष्ठ मौखिम प्रस्तुुतिकरण र उत्कृष्ठ पोस्टर प्रस्तुतिकरण अवार्ड प्रदान गरिने छ ।
त्यसैगरि परिषद्को जर्नलमा वर्षभरि प्रकाशित अनुसन्धानमूलक लेखहरुमध्ये उत्कृष्ठ आर्टिकललाई दुर्गादेबी ज्ञवाली उत्कृष्ठ कृति पुरस्कार २०२० प्रदान गरिने छ । त्यसैगरि उत्कृष्ठ अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल टष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, लाइभटाइम एचिभमेन्ट अवार्ड र परिषदमा उत्कृष्ठ काम गर्ने कर्मचारीलाई बेष्ट परफरमेन्स अवार्ड प्रदान गरिने छ । परिषद्ले बिगत ६ वर्षदेखि आफ्नो स्थापना दिवसको अवसर पारेर अप्रिल १० देखि १२ सम्म सम्मेलन गर्दै आइरहेकोमा यस बर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको थियो । भर्चुअल रुपमा भए पनि सम्मेलन गर्नु पर्नेमा परिषद्का विज्ञहरु सहमत भएपछि दुई दिने यो सम्मेलन आधुनिक प्रविधिको प्रयोग गरेर भर्चुअल रुपमा हुन लागेको हो ।
सम्मेलनको पूर्वसन्धयामा परिषद्ले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले सम्मेलनमा प्रस्तुत हुने अनुसनधानमूलक प्रस्तुतिकरणले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा भविश्यमा चाल्नु पर्ने कदमका बिषयमा नीति निर्मातालाई समेत दिशानिर्देश गर्ने भएकाले सम्मेलनको भूमिका ठूलो रहेको बताए । सम्मेलनमा युवा वैज्ञानिकहरुलाई अझ वढी महत्व दिइएको उनले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदिप ज्ञवालीले सम्मेलनको उद्घाटन सत्रको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था समेत मिलाईएको जानकारी दिए ।