हेल्थ टुडे,
काठमाडौं, ४ कात्तिक : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुल्क तिर्न सक्ने र चाहानेलाई सहज अवसर उपलब्ध गराउँन सरकारले सःशुल्क कोरोना उपचारको व्यवस्था गरेको दावी गरेका छन ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विशेष मन्तव्य दिँदै ढकालले सुरुदेखि नै कोरोनाको परीक्षण निःशुल्क गर्दै आएकोमा नागरिकको माग र चाहानाअनुसार नै सशुल्क रुपमा निजी गर्ने व्यवस्था मिलाइएको समेत दावी गरे ।
ढकालले कोरोनाको उपचारमा सामाजिक न्यायसहितको समानता स्थापित गर्नका लागि स्वास्थ्यकर्मी, विपन्न, अपाङ, एकल महिला, जेष्ठ नागरिकको उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइएको दावी गरे ।
उनले उपचारका क्रममा बिरामी पक्षले उपचार खर्च नभएको स्वघोषणा गरेमा कुनै निकायको सिफारिसविना नै सरकारले उपचार खर्च बेहोर्ने समेत बताए । ढकाललले शब व्यवस्थापन प्रोटोकलमा सामान्य परिमार्जनगरी मृतक परिवारको रितीरिवाजअनुसार गर्नसक्ने व्यवस्था मात्रै गरिएको भन्दै सेनाले गर्ने व्यवस्था यथावत रहेको बताए । मन्त्री ढकाल देशभर २ हजार ६०० आइसियु तयारी रहेको र ४ सय आइसियु थपिने क्रममा रहेको समेत दावी गरे ।
उनले जटिल अवस्था भएका संक्रमितको उपचार सहजताका लागि देशभर ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट बेडसमेत छिट्टै थपिने जानकारी दिए । कुनै पनि स्वास्थ्य संस्था नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरिने तयारी रहेको भन्दै ढकालले अहिले भइरहेका अस्पतालहरुमा समेत बेड संख्या थप गरेर देशभर ६ हजार २ सय बेड थप्ने तयारी भइरहेको जानकारी दिए । दशै तिहार र छठपर्वका बेला बिषेश रुपमा स्वास्थ्य सजगकता अपनाउनु पर्नेमा मन्त्री ढकालले जोड दिएका छन् ।