हेल्थ टुडे,
काठमाडौं, १४ जेठ : नेपाल चिकित्सक संघले हिजो भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट भएको दिनलाई ‘ब्ल्याक डे ’ घोषणा गरेको छ । संघले स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत फन्टलाइनर सबैलाई घटनाको विरोध गर्दै आज शुक्रबार हातमा कालोपट्टि बाधेर काम गर्न अपिल गरेको छ । संघले शुक्रबार विज्ञप्ति मार्फत यो अपिल जारी गरेको हो ।
भेरी अस्पतालमा विहिबार साझ ८ बजे दाङका ५४ बर्षिय विरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले उपचारमा संलग्न चिकित्सक र नर्सहरुमाथि कुटपिट र हातपात गरेका थिए । ज्यान जोगाउनका लागि चिकित्सकहरु र नर्सहरुले अस्पतालबाट हाम फालेका थिए । यो घटनापछि अस्पतालको सेवा समेत केही समय रोकिएको थियो ।
कोरोना महामारीका बेला रातदिन नभनि उपचारमा संलग्न चिकित्सकमाथि हमला भएपछि त्यसको सर्वत्र विरोध भएको छ । बाके प्रहरीले घटना संलग्न ३ जनालाई पक्राउ गरिसकेको जनाएको छ । प्रहरीका अनुसार मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ । गृह मन्त्रालयले घटनामा संलग्नलाई कारवाही गरिने बताएको छ । घटनाको पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल लगायतले निश्पक्ष छानविन हुनु पर्ने माग गरेका छन् । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गरि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कामबाट बिमुख हुने बाध्यात्मक परिस्थितिको सिर्जना नगर्न समेत आग्रह गरेको छ ।