हेल्थ टुडे,
काठमाडौ, १२ असार : गम्भीर किसिमको एन्टिोवायोटिक औषधिको दुरुपयोग बढ्दै गएको भन्दै नेपाल चिकित्सक संघले चिन्ता व्यक्त गर्दै सरकारले यसको अनावश्यक प्रयोग तत्काल रोक्नु पर्ने सुझाव दिएको छ ।
चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ ।
महासचिव डा. बद्री रिजालले हस्ताक्षर गरेको विज्ञप्तिमा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना एन्टिवायोटिक्स, स्टेरोइड्स, सेडाटिभ्सलगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्नका लागि अविलम्ब अनुगमन गरी नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरिएको छ ।
चिकित्सक संघले आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि माग गरेको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले चिकित्सक भनी भ्रामक प्रचार प्रसार गरेको र उपचार प्रक्रियामा पनि समावेश भएको भन्दै उनीहरुमाथि छानबिन गर्न र रोक लगाउन पनि संघले माग गरेको छ ।
चिकित्सक संघले जारी गरेको विज्ञप्ति