हेल्थ टुडे,
काठमाडौँ, १७ असोज नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या २१ प्रतिसत पुगेको छ । यो संख्या छिमेकी भारत भन्दा ४ प्रतिसतले बढी हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ १७ प्रतिसतले मात्र पूर्ण खोप लगाएका छन् । भारतले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको ४ दिनपछि गत माघमा नेपालमा खोप अभियानमा सुरु भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्व एसिया कार्यालयका अनुसार नेपालको कुल जनसंख्याको २०.९५ प्रतिशतले पूर्ण खोप लगाएका छन । यो संख्या भारतमा १६.८९ प्रतिशत छ ।
पूर्ण खोप लगाउनेको संख्या भारतको भन्दा बढी भए पनि पहिलो डोज खोप लगाउनको प्रतिसत भने भारतमा बढी छ । त्यहाँ ४५ प्रतिसतले पहिलो डोज लगाएका छन् भने नेपालमा पहिलो डोज खोप लगाउने कुल जनसंख्याको २५.२७ प्रतिशत छ । सरकारले आउदो चौत भित्र लक्षित जनसंख्यालाई खोप लगाइसक्ने बताएको छ । अहिलेसम्म विभिन्न अनुदान एवं खरिद गरेर १ करोड ७८ लाख ५८ हजारभन्दा बढी डोज खोप आइसकेको छ । नेपालमा खोप अभियानले कोरोना संक्रमणमा कमि आएको विज्ञहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले खोपलाई पहिलो प्राथमिकता राखेर स्वास्थ्य सेवा उपलब्ध गराइराखेको बताए ।