हेल्थ टुडे,
काठमाडौं, २६ कार्तिक : सरकारले २०७७ माघ १४ गतेदेखि कोभिड –१९ विरुद्घको खोप दिन सुरु गरेपछि अहिलेसम्म १८ वर्षभन्दा माथिको उमेर समूहलाई विभिन्न चरणमा खोप दिइरहेको छ । तर अबको दुई महिनाभित्रै १२ वर्ष माथिको उमेर समूहका किशोरकिशोरीलाई पनि फाइजर बायोएनटेकको खोप दिने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
कार्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दिर्घरोगीका लागि सञ्चालन हुन लागेको फाइजर खोप अभियानका बिषयमा जानकारी दिन परिवार कल्याण महासाखाले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले १२ वर्षभन्दा माथिको उमेर समूहका लागि ६० लाख फाइजर खोप खरिदको प्रकृयामा गइसकेकाले पुषभित्र लगाउने तयारी भइरहेको बताए । आउदो चैत मसान्तभित्र लक्षित सबै नेपालीले कोभिड खोप पाइसक्ने गरि मन्त्रालयले काम गरिरहेको र लक्ष्य अनुसार सफल भइरहेको समेत प्रवक्ता पौडेलले जानकारी दिए ।
अन्तरक्रियामा परिवार कल्याण महासाखा, खोप साखा प्रमुख सागर दाहालले आउदो पुषमा सञ्चालन हुने १२ वर्षमाथिका उमेर समूहका लागि खोप कार्यक्रम स्कुल र कलेजहरुको समुन्वयमा शिक्षण संस्थाहरुमा नै सञ्चालन गर्ने गरि तयारी भइरहेको बताए । विश्वका १३२ देशमा प्रयोगमा आइसकेको भए पनि नेपालका लागि फाइजर बायोएनटेक खोप नयाँ भएकाले त्यसको प्रयोगका लागि मन्त्रालयले स्वास्थ्यकर्मीलाई बिषेश तालिम दिएको दाहालले जानकारी दिए ।
नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोन्सन गरि ४ प्रकारका खोप दिइएको छ । मन्त्रालयले कार्तिक २८ गतेबाट १२ वर्षभन्दा माथिको उमेर समूहका दिर्घरोगीका लागि फाइजर खोप दिने तालिका सार्वजनिक गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभरिका छनौट भएका २४ वटा अस्पतालबाट १२ वर्ष माथिका दिर्घरोगीले फाइजर खोप लिन सकिने गरि तयारी गरिएको बताए । अहिले १ लाख ६ सय २० भाइलमात्र खोप उपलब्ध भएकाले १२ वर्ष माथिका दिर्घरोगीलाई मात्र दिन थालिएको र आगामी पुष भित्र १२ वर्ष माथिका सबैलाई फाइजर दिइने बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले खोप अभियानमा सर्वसाधारणलाई सत्य, तथ्य जानकारी गराउनमा सञ्चार माध्यमहरुको ठूलो भूमिका भएको स्मरण गर्दै खोप अभियानमा सञ्चार माध्यम र सञ्चारकर्मीको सकारात्मक सहयोग प्राप्त भइरहेको बताए ।