हेल्थ टुडे,
काठमाडौं, १७ पुष : अत्याधुनिक प्रविधिले अनुहारको आकृति मिलाउने शल्यक्रिया (अर्थोग्न्याथिक सर्जरी) काठमाडौंको धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटलमा सफलताकासाथ सम्पन्न भएको छ । जर्मनी र ताइवानबाट विशेष तालिम प्राप्त चिकित्सकको टोलीले हिमाल डेन्टल हस्पिटलमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर अनुहारको आकृति मिलाउने शल्यक्रिया (अर्थोग्न्याथिक सर्जरी) सम्पन्न गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हस्पिटलले जानकारी गराएको छ ।
शल्यक्रियामा संलग्न चिकित्सकहरुका अनुसार हालसम्म निजी क्षेत्रका डेन्टल हस्पिटलको अगुवाइमा अर्थोग्न्याथिक सर्जरी गरिएको शल्यक्रिया पहिलो हो । यो भन्दा पहिले वीर अस्पतालमा मात्र यो सेवा उपलब्ध थियो । काठमाडौं बौद्घ निवासी १९ वर्षीय एक जना पुरुषको पहिलो पटक अनुहारको आकृति मिलाउने शल्यक्रिया सफलताका साथ सम्पन्न गरिएको हिमाल डेन्टल हस्पिटलका अध्यक्ष एवं कार्यकारी निर्देशक राजेन्द्र भट्टले जानकारी दिए । उक्त शल्यक्रिया गर्न ७ घण्टा लागेको थियो । विज्ञ दन्त चिकित्सक डा. किशोर भण्डारी र डा. मनीष बज्राचार्यको टिमले ओम हस्पिटलको प्राविधिक सहयोगमा हिमाल डेन्टल हस्पिटलमा यो शल्यक्रिया सम्पन्न गरेको अध्यक्ष भट्टले बताए । डा. किशोर भण्डारीको नेतृत्वमा डा. नारायण शर्मा लामिछाने र डा. गौरव कर्ण सम्मिलित टोलीले उक्त शल्यक्रिया गरेको हो । यस शल्यक्रियामा महत्वपूर्ण मानिने भर्चुअल प्लानिङ र थ्रिडी प्रिन्टिङ जस्ता आधुनिक कार्य डा. उज्ज्वल प्याकुरेलले सम्पन्न गर्नु भएको हो ।
विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि दुर्लभ भएको शल्यक्रियामा संलग्न डा. किशोर भण्डारीले जानकारी दिए । नेपालमा यो सुविधा नभएर आकृति मिलाउने शल्यक्रिया गराउन थुप्रै नेपाली विदेश जाने गरेका थिए । हिमाल डेन्टलमै अब यो सुविधा उपलब्ध भएपछि अनुहारको आकृति मिलाउनका लागि बिदेश जानु पर्ने अवस्था हटेको शल्यक्रियामा संलग्न अर्का विज्ञ दन्त चिकित्सक डा. मनिष बज्राचार्यले बताए ।
अनुहारको असामान्य आकृति भनेको के हो ? र यो किन हुन्छ ?
डा.भण्डारीका अनुसार सामान्य अर्थमा भन्नु पर्दा अनुहारको माथिल्लो र तल्लो हड्डी बीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेरियल डिफोमिटिज् भनिन्छ । र यसको शल्यक्रियाका माध्यमबाट गरिने उपचार विधिलाई अनुहारको आकृति मिलाउने शल्यक्रिया भनिन्छ । शारीरिक विकास हुने क्रममा अनुहारको हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेरियल डिफोमिटिज् उत्पन्न हुन सक्छन । जस्तै ः अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, चिउँडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समुन्वय नमिल्दा मुख बन्द नहुनु आदि । यसका अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटकको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रूपले विकसित हुन सक्छ ।
डा. बज्राचार्यका अनुसार यस प्रकारको अवस्थाका कारण अनुहारको आकृति असामान्य हुनुका साथै दैनिक क्रियाकलापहरूमा समेत भौतिक तथा मानसिक असर देखिन्छ । जस्तै ः राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिट्टिनु, अनुहारको मांसपेशीमा अत्यधिक दबाब पर्न गई अनुहारको जोर्नीमा नकारात्मक असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु र आत्मविश्वासको कमी हुनु आदि ।
उपचारको विधि
सामान्यतया यस किसिमको शल्यक्रिया गर्नुभन्दा पहिले दाँतमा द्यचबअभक बाधिन्छ र शल्यक्रियामार्फत अनुहारको माथिको हड्डीलाई नयाँ पोजिसनमा सारी टिटानियम प्लेट्सले फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ र अनुहारमा कुनै किसिमको दाग देखिँदैन । यो शल्यक्रिया गर्न ४ देखि ८ घण्टाको समय लाग्छ । शल्यक्रिया गरिसकेपछि सेवाग्राहीले १ देखि ३ दिन मात्र अस्पताल बस्नु ्पर्छ । घर गएपछि १ देखि २ हप्ता आराम गर्नुपर्छ । करिब ६ हप्तासम्म झोलिलो खानेकुरा खानु पर्छ । शल्यक्रिया भएको २ देखि ३ हप्तापश्चात ब्रच्स बाध्ने काम सुरु हुन्छ, जुन ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ । यस किसिमका शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने कम्प्युटरको सहायताले अनुहारको बनोट निक्र्योल गरिने आधुनिक तथा उच्च प्रविधिको प्रयोग गरिने हँुदा पछिल्ला शल्यक्रियाको नतिजा उत्कृष्ट रहेको छ ।
हिमाल डेन्टल हस्पिटल नेपालको दन्त चिकित्साको क्षेत्रमा स्वदेशमा मात्र नभएर विदेशमा समेत ख्यातिप्राप्त अग्रणी हस्पिटल हो । स्वदेशमै सर्वसुलभ रूपमा दाँतको उपचार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापना भएको हिमाल डेन्टलले देशका विभिन्न भागमा समेत शाखा विस्तार गरेर गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
हिमाल डेन्टल नेपालमा अनुहार तथा दाँतको सिटी स्क्यान गर्नु आधुनिक प्रविधि सिबीसिटी जडान गर्ने, हस्पिटलभित्रै अत्याधुनिक डिजिटल डेन्टल ल्याव सिएडी र सिएए स्थापना गर्ने पहिलो निजी डेन्टल हस्पिटल हो । हिमालले बैंकसँगको सहकार्यमा एकमुष्ट उपचार रकम तिर्न नसकिने बिरामीहरूलाई शून्य ब्याजदरमा किस्तामा रकम बुझाउने सहुलियत प्रदान गर्ने पहिलो डेन्टल हस्पिटलको रुपमा समेत आफुलाइृ उभ्याएको अध्यक्ष भट्टले बताए । हिमाल डेन्टलले लेजर प्रविधिको माध्यमबाट मुखको बिभिन्न अवस्थाहरूको नकाटिकन शल्यक्रिया सेवा, दाँत नभएका बिरामीहरूको समान्य तथा जटिल डेन्टल इम्प्लान्ट, डेन्टल माइक्रोस्कापको प्रयोग गरी सामान्य तथा जटिल आरसिटी लगायत मुख तथा अनुहारकोे सबै किसिमका शल्यक्रियाहरू दक्ष र अनुभवी चिकित्सकहरूको टोलीद्वारा गरिने डा. भट्टले बताए ।