हेल्थ टुडे,
काठमाडौं, ९ माघ : देशकै एक मात्र रिफरल सरुवा रोग अस्पतालका रुपमा परिचित टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड खोप अभियान स्थगित गरिएको छ । राजधानीका खोप केन्द्रहरुमध्ये खोप लगाउन धेरै व्यक्तिको भिड हुने यो अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना संक्रमित भएपछि अस्पतालले खोप अभियान स्थगित गरेको सूचना जारी गरेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी गराएको छ ।
पछिल्लो हप्ता देशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी समेत कोरोना संक्रमित हुन थालेपछि खोप सेवा सहितका उपचार सेवा समेत प्रभावित हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देश भरिमा एक हजार भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।