हेल्थ टुडे,
काठमाडौं, १५ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव देवकुमारी गुरागाईले आफ्नो मृत्यु पश्चात अंग दानको घोषणा गरेका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आईतबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य मन्त्रालय परिसरमा राखेको अंगदान शिविरमा पुगेर मन्त्री खतिवडा, मुख्य सचिव बैरागी र सचिव गुरागाईले अंगदान गर्ने कागजातमा हस्ताक्षर गर्दै मृत्यु पश्चात अंगदानको मञ्जुरी नामा गरेका हुन । यस अगाडि मन्त्रालयमा आयोजना गरिएको समारोहमा तिनै जनाले अंगदान गर्ने घोषणा गरेका थिए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले स्वास्थ्य मन्त्री, मुख्य सचिव र स्वास्थ्य सचिवले अंगदान घोषणा गर्नु सकारात्मक भएको बताए । केन्द्रका अनुसार यो भन्दा पहिलेका स्वास्थ्य मन्त्रीहरु विद्याधर मल्लिक, राजेन्द्र महतो, रामजनम चौधरी, उमाकान्त चौधरी र दिपक बोहोराले पनि अंगदान गरिसकेका छन् । डा. श्रेष्ठले अहिलेसम्म अहिलेसम्म २५ सय जनाले आफ्नो मृत्यु पश्चात अंग दान गरेको घोषणा गरेर नाम लेखाएका छन् ।
नेपालमा हरेक वर्ष ३ हजार भन्दा बढीको बर्षेनी मिर्गौला फेल हुने गरेको सरकारी तथ्यांक छ । अर्थात बर्षेनी ३ हजारको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने आवश्यकता हुन्छ अहिले । तर देशभरि मुस्किलले ३ सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुन्छ । यसको सोझो अर्थ हो, मिर्गौला प्रत्यारोपणको माग अत्यधिक छ तर त्यसको तुलनामा आपूर्ति एकदमै न्यून छ । मिर्गौला प्रत्यारोपणमा यो सबैभन्दा ठूलो चुनौति हो । माग र आपूर्ति बिचको यो ठूलो खाड्ल पुरा गर्न त्यति सहज छैन् । जिवित व्यक्तिहरुले मात्र अहिले गरि रहेको मिर्गौला दानले यो खाडललाई पुर्न सक्दैन । ठूलो संख्यामा ब्रेन डेथ (मष्तिस्क मृत्यु ) भएका व्यक्तिको मिर्गौला झिकेर जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए मात्र यो समस्या धेरै हदसम्म हल हुने प्रत्यारोपण विज्ञहरु बताउछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा बर्षमा करिव २ हजार बढीले सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । ती मध्ये करिव एक हजारको ब्रेन डेथ हुने गरेको छ । यी एक हजारको मिर्गौला लगायत कलेजो, प्यांक्रियाज, ठूलो आन्द्रा । सानो आद्राजस्ता अंग निकालेर जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए हजारौको जिवन बचाउन सकिने विज्ञहरुको दावी छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार एक जना ब्रेन डेथ भएको व्यक्तिबाट आठ वटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अंग दान मार्फत प्राप्त हुने अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए नेपाल अंग प्रत्यारोपणमा आत्म निर्भर हुने डा. श्रेष्ठ दावी छ । ब्रेन डेथमा धेरै संभावना भए पनि नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गरिएको संख्या औलमा गन्न सकिने अवस्था छ । डा. श्रेष्ठका अनुसार अहिलेसम्म नेपालमा ३ जना ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला ६ जनामा प्रत्यारोपण गरिएको छ भने एक जनाको कलेजो प्रत्यारोपण गरिएको छ । यो संख्या एकदमै न्युन हो । नेपालमा बिसं २०७२ सालमा अंग प्रत्यारोपण ऐन आए पछि ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सक्ने कानून आएको हो । पहिले नजिकका नातेदारले मात्र अंग दान गर्न सक्ने कानून भएपनि अहिले नाता सम्बन्ध पर्ने जो सुकैले पनि अंग दान गर्न सक्ने कानूनी व्यवस्था छ ।
ब्रेन डेथ भएका व्यक्तीको अंग प्रत्यारोपणबाट बर्षेनी हजारौ व्यक्तिलाई बचाउन सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अंग दान गर्ने व्यवस्था सहित सरकारले छुट्टै कानूनको व्यवस्था गरेको छ । कानून कार्यन्वयन गर्नका लागि सरकारले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई समुन्यय केन्द्र तोकेको छ । कुनै पनि व्यक्तिले आफ्नो मृत्यु पछि अंग दान गर्न चाहेको अवस्थामा केन्द्रमा सम्पर्क राखेर इच्छापत्र लिन सक्ने व्यवस्था छ । कुनै व्यक्तिको सडक दुर्घटना वा अन्य कारणले ब्रेन डेथ भएको अवस्थामा उक्त व्यक्ति उपचाररत अस्पतालले ब्रेन डेथ भएको घोषणा गरेपछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको समुन्वय एकाईलाई खबर गर्नु पर्छ । केन्द्रले विज्ञ चिकित्सकिय टोलीले ब्रेन डेथ भएको अस्पतालमा गई ब्रेन डेथ भएका व्यक्तिका आफन्त वा नातेदारहरुसँग सल्लाह गरेर उनीहरुको सहमती दिएमा ब्रेन डेथ भएको व्यक्तीको अंग निकालेर अंग प्रत्यारोपण आवश्यक भएको जिवित व्यक्तीमा प्रत्यारोपण गर्ने गरिन्छ ।