हेल्थ टुडे,
धरान, ११ चैत : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत १५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रम स्थगित गर्ने भएको छ । स्वास्थ्य विमा बोर्डले बिमा सेवा दिए बाफत उपलब्ध गराउनु पर्ने रकम नदिएपछि प्रतिष्ठानले बिमा कार्यक्रम अन्तरगतका सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय गरेको हो । प्रतिष्ठानको यो निर्णयले हजारौ विपन्नको स्वास्थ्य सेवा प्रभावित हुने भएको छ ।
प्रतिष्ठानले एक महिना अगाडि नै बिमा दाबी सोधभर्ना गरिदिन बिमा बोर्डलाई आग्रह गरेको भए पनि बिमा बोर्डले त्यसको सुनवाई नगरेकाले बाध्य भएर चैत १५ गतेदेखि सेवा स्थगित गर्नु परको सूचना टास्नु परेका प्रतिष्ठानका उपकुलपछि डा.ज्ञानेन्द्र गिरीले बताए । प्रतिष्ठानले बिसं २०७४ देखि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
स्वास्थ्य विमा गराएका विरामीले उपचार बाफत एक लाखदेखि बढीमा दुई लाख रुपैया बराबरको उपचार सेवा पाउने गरेका छन । उक्त उपचार सेवा बाफत विमा बोर्डले अस्पतालहरुलाई सोधभर्ना गर्ने गर्दछ । पछिल्लो समय स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानबिचको सम्बन्ध सुमधुर छैन । जसको असर स्वास्थ्य विमा पनि देखिएको छ ।