डा. पुकारचन्द्र श्रेष्ठ,
पछिल्ला केही वर्षयता मोटोपन संसारभरि नै बढ्दो समस्याका रूपमा देखा परेको छ । उच्च रक्तचाप, श्वासप्रश्वास, मुटु रोगजस्तै मोटोपन किड्नीका लागि पनि हानिकारक मानिन्छ । यसले २ देखि ७ गुणासम्म किड्नी ‘फेल’ गराउने सम्भावना हुन्छ । नेपालमा करिब ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग लागेको अनुमान छ । यहाँ ३ हजार जनाको वर्षैपिच्छे दुवै किड्नी फेल हुने गर्छ । तीमध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गर्छ ।
किड्नीसम्बन्धी रोग लाग्ने विभिन्न कारक तत्वहरूमध्ये मोटोपन बलियो कारण हो । उच्च रक्तचाप र मधुमेहजस्तै दीर्घकालीन किड्नीको रोगको प्रमुख कारक तत्वमध्ये मोटोपन पनि एक हो । यसले किड्नी ‘फेल’ गराउन ठूलो भूमिका खेलेको हुन्छ । मोटोपन भएका व्यक्तिहरूमा किड्नीले अरूमा भन्दा बढी कार्य गर्नुपर्ने हुन्छ, जसले गर्दा किड्नी विस्तारै खराब भई दीर्घकालीन रोग लाग्ने गर्छ ।
उच्च तौल भएका वा मोटोपन भएकाहरूमा किड्नी फेल ‘हुने’ समस्या अरू स्वस्थ व्यक्तिहरूको तुलनामा २ देखि ७ गुणा बढी हुन्छ । यी सबका बाबजुद पनि शुभ समाचार के छ भने मोटोपन र किड्नीको दीर्घरोग धेरै हदसम्म रोकथाम गर्न सकिने समस्या हुन् र सन्तुलित आहार तथा शारीरिक व्यायामजस्तो स्वस्थ जीवनशैलीले मोटोपन र किड्नीको रोग लाग्नबाट बचाउन सकिन्छ । रोग लागेपछि उपचार गराउनु भन्दा रोगै लाग्न नदिन राम्रो भनेझै हरेक व्यक्तिले खानपानमा ध्यान दिनै पर्छ । खानपान र व्यायाममा ध्यान दिन सकिए मोटोपन नियन्त्रणमा राख्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि मोटोपनको खराबी र किड्नी रोग लाग्नमा यसको असर तथा यसबाट जोगिन स्वस्थ जीवनशैली र उपयुक्त स्वास्थ्य नीतिका उपायमार्फत रोगको रोकथाममा विशेष जोड दिएको छ । सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८ प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ भने ६ प्रतिशत पुरुष र ९ प्रतिशत महिला गम्भीर मोटोपनले पीडित हुने अनुमान गरिएको छ । कुनै—कुनै राष्ट्रमा त एक तिहाइ जनसंख्या मोटोपनको सिकार भइसकेको छ र कमजोर स्वास्थ्य र चिकित्सा क्षेत्रको अधिकतम खर्चको कारण बनिसकेको छ ।
साधारणतया जनमानसमा मोटोपनले मृत्युको जोखिम बढाउने मात्र नभई अनेकौं रोग निम्त्याउने गर्छ । जस्तै—मुटुको रोग, मधुमय, उच्च रक्तचाप, उच्च कोलेस्टोरल, निद्रामा घुर्ने, कलेजोको बोसोपन, पित्तथैलीको रोग, जोर्नी खिइने, विभिन्न क्यान्सर, मानसिक रोग तथा न्यून जीवनस्तर आदि ।
वैज्ञानिकहरूका अनुसार मोटोपनका कारण नसर्ने रोगहरूको संक्रमण अपत्यारिलो ढंगले बढ्दै गइरहेको पाइएको छ । मोटोपनले अप्रत्यक्ष रूपमा मधुमेह, उच्च रक्तचाप, मुटुको रोग आदि गराएर किड्नी रोगको कारक तत्व बन्ने गर्छ भने प्रत्यक्ष रूपमा किड्नीलाई अत्यधिक कार्य गर्न लगाई किड्नी खराबी ल्याउने गर्छ र यसले किड्नीको पत्थरी तथा किड्नीको क्यान्सरसमेत गराउन सक्छ । मोटोपन घटाउनाले किड्नीका दीर्घरोगमा कमी गराउन वा निको पार्न पनि मद्दत गर्छ । अकस्मात किड्नीमा खराबी आउने समस्या पनि मोटोपना भएकामा बढी मात्रामा पाइने गर्छ । किड्नी रोगको गम्भीरतालाई मनन् गरी नेपाल सरकारले डायलासिस पूर्णरूपमा निःशुल्क गरिसकेको छ भने किड्नी प्रत्यारोपण पनि निःशुल्क छ । यसबाट किड्नी रोगले थलिएकाहरू जसको घर—सम्पत्ति सखाफ भइसकेको छ, उनीहरूमा बाँच्ने आशा पलाएको छ र प्रत्यारोपणपश्चात् स्वस्थ व्यक्ति सरह जीवनयापन गर्न सक्ने हुँदा देशको उत्पादकत्वमा पनि अभिवृद्धि हुनेछ ।
१० वर्षअघि स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मृगौला ‘फेल’ भएकाहरूका लागि अधिकतम संख्यामा डायलासिस र प्रत्यारोपणको सुविधा उपलब्ध गराउँदै आएको छ भने सुरु गरेको कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रियाका साथै विभिन्न अंगसमेत ‘फेल’ हुनबाट जोगाउने कार्य तथा प्रत्यारोपणलगायतको उपचार स्वदेशमा उपलब्ध गराई जनसाधारणको पहुँचभित्र ल्याउन केन्द्र कटिबद्ध छ ।
(डा.श्रेष्ठ शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन । )