पदमराज जोशी,
बैतडी, बैसाख २८, : बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–१ कुस्मौत निवासी करन साउदकी १४ वर्षकी छोरी मनीषाको विषालु सर्पले डसेर मृत्यु भयो । शनिबार बिहान ९ बजेतिर घरकै भित्ताको दुलोबाट आएको सर्पले टोकेर उनको मृत्यु भएको हो । सर्पले टोकेपछि मनीषाले उपचारै नपाएर ज्यान गुमाइन् । सर्पले टोकेको डेढ घण्टामै छोरीको मृत्यु भएको उनका ठूलाबुवा वीरबहादुर साउदले बताए ।
नजिकैका स्वास्थ्य संस्थामा उपचार नहुने भएपछि कहाँ लैजाने भन्ने अलमलमै भएको बेला छोरीको मृत्यु भइसकेको साउदले बताए । समयमै उपचार पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने मनमा लागिरहेको उनले सुनाए । ‘यहाँ त दुर्गम छ । ४ घण्टा बढी पैदल हिँडेपछि मात्र सडकमा पुगिन्छ । त्यहाँबाट पनि जिल्ला सदरमुकाम वा डडेलधुरा जान ७÷८ घण्टा लागिहाल्छ,’ उनले भने, ‘त्यहाँसम्म पुगाउँदा त बिरामीको मृत्यु नै भइसक्छ । उपचारका लागि भारतीय बजार जाने गर्छौं तर महाकालीमा पुल नभएकाले वर्षात्मा डुंगा र ट्युबबाट नदी तर्न गाह्रो भएर जान सकिँदैन ।’
सर्पले टोकेर मृत्यु हुनेमा मनीषा मात्र होइनन् । तल्लोस्वराड क्षेत्रमा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बर्सेनि २÷४ जनाले सर्पको टोकाइका कारण ज्यान गुमाउनुपर्ने बाध्यता छ । स्थानीयका अनुसार एक पालिकामा गर्मी सुरु भएसँगै २÷४ जनाले ज्यान गुमाउँछन् । अहिलेसम्म कति जनाले सर्पले टोकेर ज्यान गुमाए भन्ने तथ्यांक भने कसैसँग छैन । पालिकाले पनि यसमा चासो दिएका छैनन् । स्वास्थ्य संस्थाहरूमा पनि योबारे जानकारी नै हुँदैन ।
गत वर्ष पनि सर्पको टोकाइबाट आफूले ११ वर्षको छोरालाई गुमाएको पञ्चेश्वर गाउककपालिका– ४ आमचौराका स्थानीय चमन सार्कीले बताए । उपचारै नपाएर आँखै अगाडि छोराको मृत्यु भएको उनले दुखेसो पोखे । उनले भने, ‘यहाँ त मैले जस्तै धेरैले आफन्त गुमाएका छन् । पीडा ज्यान गुमाउनेका आफन्तले मात्र भोगेका छन् । अरुलाई केही वास्ता छैन । पालिकामै उपचार हुने भए यसरी अकालमै मान्छेको मृत्यु हुनबाट जोगाउन सकिन्थ्यो होला । तर के गर्नु ?’
शिवनाथ र पञ्चेश्वरको महाकाली किनारमा तराईकै जस्तै गर्मी हुन्छ । गर्मी र वर्षात्मा सर्पको बढी देखिने पञ्चेश्वर गाउँपालिका— २ अम्रराडका स्थानीय मोहनबहादुर चन्दले बताए । सर्पको टोकाइबाट उपचारै नपाएर ज्यान जाने गरेको छ । उनले भने, ‘एकातिर गाउँमा सर्पदंशको उपचार हुने सुविधा छैन । अर्कोतिर उपचारका लागि स्वास्थ्य संस्था लैजानुपर्छ भन्ने चेतना पनि धेरैमा छैन । सबैले झारफुक मात्र गर्छन् । यसले निको हुन्छ भन्दाभन्दै ज्यान गइसक्छ ।’ अस्पताल लिएपछि सन्चो हुन्छ भन्ने थाहा पनि स्थानीयलाई नभएको उनको भनाइ छ । यसरी बर्सेनि २ पालिका गरी ७÷८ जनाले उपचारै नपाएर ज्यान गुमाउँदा पनि कतैबाट केही चासो नभएको उनले बताए । सर्पले टोके पनि स्वास्थ्य संस्थामा भने खासै नआउने गरेको पञ्चेश्वर गाउँपालिका–१ को पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्की बताउँछन् । स्वास्थ्य संस्थाहरूमा प्राथमिक उपचार मात्र हुने गरेको उनले बताए । जिल्लामै सर्पदंशको उपचार हुँदैन । सर्पले टोकेपछि प्राथमिक उपचारबाहेक अन्य उपचार सेवा जिल्लामा नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।